घुससहित पक्राउ परेका दार्चुलाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ९ लाख १२ हजार बिगो कायम

-


     सुचनाको हक     
     भाद्र २ गते २०८१ मा प्रकाशित


जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैया) को २ (दुई) वटा गरी रु.५,००,०००।– (पाँच लाख) को चेकसहित नियन्त्रणमा लिइएको थियो।

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि सामाग्री वापत भुक्तानी गर्नुपर्ने रकमको चेकहरु शैल्यशिखर नगरपालिका अन्तर्गतका कृषक समूहबाट संकलन गरी आफूसँग राखी भुक्तानी गर्नको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) नगद र प्रतिवादी अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।- दरको थान-२ चेकहरूको हुने रु.५,००,०००।-(पाँच लाख रुपैयाँ) गरी जम्मा  रु.९,१२,०००।- (नौ लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिएको पुष्टि भएको हुँदा निजहरु मोहन सिंह धामी र अशोक सिंह धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.९,१२,०००|- (नौ लाख बाह्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।