जिल्ला महोत्तरी, बलवा नगरपालिका वडा नं. ९, धमौरास्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटा(राहत) शिक्षक पदमा कार्यरत अशोक कुमार साहले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज अशोक कुमार साहले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी श्री राष्ट्रिय प्राथमिक विद्यालय, महोत्तरीमा मिति २०६९।०७।२५ देखि लागू हुने गरी शिक्षक अनुदान कोटा (राहत) मा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएबाट निज अशोक कुमार साहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।
यस्तै
श्री प्राथमिक विद्यालय, गलटाकुरी, कौवाघारी, दाङमा कार्यरत शिक्षक भिम कुमार डि.सी.को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भिम कुमार डि.सी.ले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट जारी भएको हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजले नेपाल सरकारको स्थायी शिक्षकको रुपमा २०५०/०३/०१ गतेबाट सेवा प्रवेश गरी प्रा.वि. द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिएको देखिन आएबाट निज भिम कुमार डि.सी.ले नक्कली प्रमाणपत्र पेश गरी सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।