खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका अधिकृत (छैठौं तह) हीमकुमारी सुनार भ्रष्टाचारमा मुछिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सुनारले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको अख्तियारको दावी छ । माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएकी उनले सरकारी लाभ र सुविधा प्राप्त गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी गर्दै आज मुद्दा दायर गरेको जनाएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपालगञ्ज, बाँकेको अधिकृत (छैटौं तह) पदमा कार्यरत हीम कुमारी सुनार पुनले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्रको छानविन गरी कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी, भारतबाट हाइस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी रा.प.अनं. द्वितीय श्रेणीको महिला कार्यकर्ताको पदमा नियुक्ति भई हाल अधिकृतस्तरको छैटौं तहमा कार्यरत रही लाभ र सुविधा प्राप्त गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकोले निज हीम कुमारी सुनार पुनलाई सोही ऐनको दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई मिति २०८०।०५।१५ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।