मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले अंश बण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज मुकुन्द पौडेललाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत तथा भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतले अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरी निज बिरेन्द्र बहादुर कठायतलाई सेवाग्राहीसँग रु.१,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) नगद र ३,५०,०००।- (तीन लाख पचास हजार रुपैयाँ) रकम बराबरको चेकसमेत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
जिल्ला चितवन, भरतपुर म.न.पा. वडा नं. २० स्थित अमिन पदमा कार्यरत बिरेन्द्र बहादुर कठायतले नामसारी एवं अंशबण्डा गर्दा राख्नु पर्ने बाटोको लगत कट्टा गर्नको लागि सहजिकरण गरे वापत सेवाग्राहीसँग रु.१,५०,०००।–नगद र रु.३,५०,०००।–को चेकसहित जम्मा रु.५,००,०००।–र मालपोत कार्यालय, चनौली, चितवनमा कार्यालय प्रमुखको रुपमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेलले रु.५०,०००।– माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक रकमको बार्गेनिङ गरी घुस/रिसवत वापतको रकम लिएको पुष्टी हुन आएको हुँदा बिरेन्द्र बहादुर कठायतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निजलाई रु.१,५०,०००।– (अक्षेरुपी एक लाख पचास हजार रुपैयाँ) नगद र रु.३,५०,०००।– (अक्षेरुपी तीन लाख पचास हजार रुपैयाँ) को चेक गरी जम्मा बिगो रु.५,००,०००।– (अक्षेरुपी पाँच लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) वमोजिम सजाय हुन र मुकुन्द पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.५०,०००।– (अक्षेरुपी पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाण्डौमा अरोपपत्र दायर भएको छ ।