लागु औषध कारोबारमा २२ बर्षे युवती सहित बिभिन्न व्यक्ति पक्राउ

-


     सुचनाको हक     
     श्रावण ७ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका-५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका-११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुस्मिताको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मोरङ, केराबारी गाउँपालिका-८ खदम खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय साजन लिम्बुसमेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरको छ । 

तनहुँ, बन्दिपुर गाउँपालिका-१ बन्दिपुर गेटस्थित बाटोबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय बिनायक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

पर्सा, बहुदरमाई नगरपालिका-९ बिश्रामपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-९ स्थित कोशी लोकमार्गबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित धनकुटा सागुरीगढी गाउँपालिका-८ बस्ने ३४ वर्षीय दर्शन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले बा.१५ च ७१४४ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो । 

रूकुम पश्‍चिम, आठबिसकोट नगरपालिका-१४ छेपारेबाट अवैध लागूऔषध अफिम करिब ५ किलो ५ सय ८० ग्राम सहित सल्यान कुमाख गाउँपालिका-५ बस्ने ३२ वर्षीय मदन प्रकाश गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले गोतामकोटबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ क १७८० नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको अफिम फेला पारी चालक गिरीलाई पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-२ सुनारेसहर बस्ने ३२ वर्षीय दुर्गा लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३-००१ ज ०३०३ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा  माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने १९ वर्षीय निर्दोश डाँगीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।