सकारात्मक कदम : जंगललाई फलफूल बगैँचा बनाउँदै सामुदायिक वन उपभोक्ता समिति

-


     सुचनाको हक     
     श्रावण ३० गते २०८० मा प्रकाशित


रामेछापको खाँडादेवी गाउँपालिका–४ पकरबासको ठूलो सामुदायिक वनले वन क्षेत्रको नाङ्गो पाखालाई फलफूल बगैँचा बनाउन सुर कसेको छ ।


गाउँपालिका र वन कार्यालय रामेछापसँगको सहकार्यमा सामुदायिक वनले वन क्षेत्रमा फलफूलका बिरुवा लगाएर जंगललाई नै बगैँचा बनाएको छ ।  


सामुदायिक वनमा तार बार गरेर आँप, लिची, कटहर, बेल, चिउरी, कागती, ओखर, लप्सी, फँडिल, जामुनो लगायतका फलफूलका बिरुवा लगाइएको सामुदायिक वनका अध्यक्ष युवबहादुर मानन्धरले बताए ।


बिरुवामा सिँचाइको लागि भटौली खोलाको पानी लिफ्ट गरेर तानिएको छ । जङ्गलको बिचमा ठुलो ट्याङ्की निर्माण गरिएको छ । त्यो ट्याङ्कीको पानी सिँचाइ गर्न ठाउँ ठाउँमा पुर्याउन प्लाष्टिक पोखरीहरू बनाइएको छ । ठुलो ट्याङ्की र प्लाष्टिक पोखरीबाट पानी तानेर बिरुवासम्म लगी सिँचाई गर्ने व्यवस्था मिलाइएको सामुदायिक वनका अध्यक्ष युवबहादुर मानन्धरले बताए ।


१ हजार २ सय बिरुवा रोपेर सुरु गरिएको वन हरियाली कार्यक्रम अहिले फलफूल बगैँचामा परिणत भएको छ । वन क्षेत्रमा अहिले १२ हजार बिरुवा लगाइएका छन् । वनमा आँपका ५ सय तथा कागतीका मात्रै ५ सय बिरुवा छन् । अन्य विभिन्न जानका बिरुवा पनि हुर्किदै छन् ।

वन क्षेत्रमा अहिले विन्नि जातका १२ हजार नयाँ बिरुवा लगाइएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । वनमा लगाइएका आँपले आउने वर्षबाट उत्पादन दिन पौडेलको भनाइ छ ।


वृक्षारोपणको लागि वन कार्यालयले २० लाख रुपैँया उपलब्ध गराएको थियो भने लिफ्ट सिँचाइको लागि खाँडादेवी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।  


वनको आम्दानीले उपभोक्ता समूहका विपन्न जेहेनदार विद्यार्थीलाई पढाइ खर्च दिनको साथै शिक्षक समेत राख्ने योजना बनाएको उपभोक्ता समूहका अध्यक्ष युवबहादुरले बताए । उत्पादन दिन लागेपछि त्यसैबाट पाले पहरे पनि राख्न सकिने उनले बताए ।  ।   


सुक्खग्रस्त क्षेत्रको रूपमा रहेको खाँडादेवी गाउँपालिकामा पालिकाले यस्ता काममा प्राथमिकताको साथ सहयोग गर्ने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।  मागको आधारमा आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।