एनआइसी बैंकको मनपरिमा राष्ट्र बैंक मौन

-


     सुचनाको हक     
     वैशाख १५ गते २०८० मा प्रकाशित


नेपाल राष्ट्र बैंकको विद्यमान ऐनलाई खुलेआम लत्याउदै आफ्नै ऐन नियम लागू गर्दै आएको एनआईसी एसिया बैंकको लुटधन्दा नियन्त्रणभन्दा बाहिर गएको छ । बैंक वित्तिय क्षेत्रको नियमनकारी मुख्य संस्था राष्ट्र बैंककै ऐन कानुनलाई सो एनआईसी बैंकले लत्याउदै जवरजस्ती घरजग्गा हड्प्दै जान थालेपछि बैंकका विरुद्धमा ऋणीहरु एकजुट समेत हुन थालेका छन् ।

सुरुमा भ्रामक प्रचार गर्ने र बैंक साथी हो भन्नै ऋण दिने गरेको छ, ऋण लिएको एक महिनाबाटै विभिन्न थप शिर्षकहरु देखाउदै ऋणीलाई व्याजदर बढाउदै जाने गरेको दुःखेशो पीडितहरुले गरेका छन् । प्रापःजसो दैनिक रुपमा विभिन्न शिर्षकहरुको शुल्क बुझाउनु पर्नेभन्दा सो रकम समेत ऋणमा जोडेर ऋणीलाई जबस्जस्ती असुली गर्दैै आएको र सो रकम नदिएमा विभिन्न अबरोध सृजना गरेर दुःख दिने गरेको समेत पीडितहरुको भनाई रहेको छ ।

यसरी विभिन्न बहना बनाएर एक दुई दिन व्याज बुझाउन ढिला भएमा घरघरमा गुण्डा परिचालन गरेर रकम असुली गर्न समेत दवाव दिदै आएको बताइएको छ । यसरी गुण्डा लगाएर बैंकमा राखेको धरौटीलाई जबरजस्ती लिलामी गर्ने गरेको समेत बताएका छन् । दिनहुँ पत्रपत्रिकामा ऋणीलाई ऋण तिर्ने र घर जग्गाको लिलामी गर्ने सूचना निकाल्ने बैंक एनआइसी एसिया पहिलो सूचीमा पर्ने गरेको छ ।

जुन बैंकले स्थापनाकालदेखि सयौं ऋणीलाई उठिबास समेत लगाई सकेको छ । सुरुमा घरजग्गालाई व्यवसाय गर्न ऋण दिने, समयमा ब्याज तिर्न नसके साँवामाथि थप ऋण थोपर्ने र व्यवसाय चौपट भएको मौका पारेर उक्त सम्पत्ति हडप्ने यस बैंकको भित्री गैरधन्दा समेत चलाउदै आएको छ । सोही गैरधन्दामा सो बैंकले गुण्डा नै परिचालन गर्दै आएको भेटिएको छ ।

यसरी गुण्डानै परिचालन गरेर जबरजस्ती लुम्बिनीस्थित एउटा होटल हडप्न खोज्दा त्यस क्षेत्रका सम्पूर्ण पर्यटन व्यवसायीहरुले एनआइसी एसिया बैंकको शाखा घेरेपछि सो घटना बाहिर आएको हो । सो घटनाले पर्यटन व्यवसायीहरुको उक्त बैंकप्रति नकारात्मक धारणा बन्न पुगेको छ ।

एउटा बैंकले यति ठूलो ज्यादती गर्दा २० किलोमिटर टाढा भैहरवामा रहेको नेपाल राष्ट्र बैंकले भने कुनै चासो समेत देखाएको छैन । ढिला गरि प्राप्त विवरण अनुसार एनआइसी एसिया बैंकबाट ऋण लिएका होटल आकाश इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक उमाशंकर मिश्रले बैंकबाट आफू पीडित भएको विभिन्न निकायको शरणमा समेत पुग्दै आएका छन् ।

मिश्र र बैंकका अनुसार असोज मसान्तसम्म बैंकको सबै ब्याज चुक्ता गरेको बताएका छन् । चैत्र मसान्तभित्र बाँकी ६ महिनाको ब्याज बुझाउनु पर्ने थियो । होटल राम्रोसँग नचलेका कारण मिश्रलाई ब्याज तिर्न कठिनाई भइरहेको बताउदा र केही समय माग गर्दा समेत सो समय नदिई एकाएक विना जानकारी लिलामीको प्रकृयामा बैंक गएको आरोप मिश्रको रहेको छ ।

बैंकमा गएर उनले एक महिनाको समय दिन माग गरेको बताए । बैंकले तत्काल १० लाख रुपैयाँ जम्मा गरेको खण्डमा ब्याज तिर्ने समयावधि बढाई दिने भन्दै दवाव दिएको थियो । सो दवावपछि मिश्रले बैंकमा १० लाख रुपैयाँ जम्मा गरेको तर व्याज बुझाउने समय नदिई केही दिनमै पुनः बैंकले मिश्रलाई ९ लाख रुपैयाँ जम्मा गर्न दवाव दिएको गुनासो गरे ।

उनले १५ दिनको समय माग गरेको बताएका छन । मिश्रले भने,‘बैंकको आग्रहअनुसार १० लाख तिरे, पछि फेरी ९ लाख तिर्न तयार भएँ र रकम जुटाउनतर्फ लागेँ । तर, ९ लाख जुटाई नसक्दै पुनः बैंकले ३० लाख जम्मा गर्न भन्यो ।’ उनले अगाडी भने, ‘कहिले कति रकम कहिले कति रकम भन्दै ममाथि निरन्तर बैंकका कर्मचारी टर्चर गर्न थाले । तर, पनि थप एक महिना समय मागेर मैले पैसा जम्मा गर्ने प्रतिबद्धता जनाएँ ।’

यही बीचमा बैंकले चैत्र २९ गते मिश्रको होटल आफ्नो नाममा गराएको छ । ‘ऋण तिर्न छ, मैले पनि तिर्छु भनेकै छु, केही थप समय मात्रै मागेको हुँ’, मिश्रले भने, ‘मालपोत कार्यालयका कर्मचारी घूस खुवाएर बैंकले एकाएक मेरो करोडौंको होटल आफ्नो नाममा बनायो । यो म माथिको अन्याय हो । सरकारले न्याय दिनुपर्छ ।

बैंकलाई कारबाही गर्नुपर्छ ।’ मिश्रको दुई कठ्ठा ६ धुरमा बनेको साढे चार तल्लाको होटल छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा रहेको उक्त होटल आकर्षक छ । स्थानीय घरजग्गा व्यापारीका अनुसार अहिलेकै मन्दीको अवस्थामा पनि होटल विक्री गर्दा न्युनतम १२ करोड पर्छ ।

तर, १२ करोड पर्ने होटल बैंकले ४ करोड ८३ लाखमा मूल्य कायम गरेर आफ्नो नाममा बनाएको छ । ‘सामान्य बजार भाउलाई पनि ख्याल नगरी होटल बैंकले आफ्नो नाममा बनायो, यो भन्दा ठूलो पीडा एउटा व्यवसायीलाई के हुनसक्छ’, मिश्रले भने, ‘यो बैंकको ज्यादती हो, राष्ट्र बैंकले तत्काल कारबाही गर्नुपर्छ ।’

पाँच वर्षअघि मिश्रले बैंकबाट ३ करोड ७० लाख रुपैयाँ ऋण लिएका थिए । अहिले उक्त ऋण बढाएर ५ करोड ८५ लाख पुगेको छ । ‘मेरो यही होटल राखेर बैंकले पौने ६ करोड ऋण दिएको छ, तर होटल आफ्नो नाममा गराउँदा पौने पाँच करोडमा गरायो, यसले पनि पुष्टि हुन्छ, बैंकको कति बदनियत छ भन्ने’, उनले गुनासो गर्दै भने ।

मिश्रका अनुसार सुरुमै बैंकले मूल्यांकन गर्दा ५ करोड ८५ लाख गरेको थियो । अहिले सुरुको मूल्यांकनअनुसार पनि दररेट कायम गरेन । होटल संचालकका अनुसार नियमानुसार लिलामी निकाल्नु पर्नेमा त्यो पनि गरेको छैन । ‘लिलामी निकालेको पनि मलाई थाहा छैन’, मिश्रले भने, ‘खोइ कसरी आफ्नो नाममा गरायो ? मालपोतले कसरी मान्यो ? केही बुझ्न सकेको छैन ।’

भूकम्प, नाकाबन्दी, तराईमधेश आन्दोलन, कोरोना महामारी जस्ता कारणले आर्थिक क्षेत्रमा मन्दी आइरहेको छ । जसको कारण होटलहरु चल्न सकेका छैनन् । यस्तोबेला बैंकले मिश्रमा होटलमाथि मौकामा चौका हानेको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् । ‘यो बैंकको ज्यादती हो, यस्तो अवस्थामा ब्यवसायीलाई सहजीकरण गर्नुको सट्टा तनाव दिने, सम्पत्ति हडप्ने गर्नु बैंक आतंक हो’, उनले भने, ‘यस्ता बैंकका संचालक र प्रबन्धकलाई पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

राष्ट्र बैंकको नियमअनुसार कुनै ऋणीले ब्याज तिरिरहेको बेला उसको सम्पत्ति लिलामी गर्ने तथा बैंकले आफ्नो नाममा बनाउन पाउँदैन । ‘मैले १० लाख रुपैयाँ नहालेको भए, बैंकले आफ्नो नाममा होटल बनाउँदा कानूनी जटिलता कम हुनसक्थ्यो, तर ब्याज तिर्दातिर्दै होटल आफ्नो नाममा बनाउनु गैरकानूनी हो’, मिश्रले भने ।

मिश्रको होटल बैंकले आफ्नो नाममा बनाउँदा उनलाई थाहै दिएको छैन । अर्कातर्फ चैत्रको तेस्रो साता बैंकका कर्मचारीले फोन गरेर होटल बेच्न दवाव दिएका थिए । कर्मचारीले आफूहरुले होटल किन्ने ग्राहक खोजेको भन्दै मिश्रलाई होटल बेच्न मानसिक दवाव दिएको उनी बताउँछन् । बजार भाउभन्दा निकै कममा र ऋण तिर्दातिर्दै होटल आफ्नो नाममा गराउनु बैंकको बद्मासी देखिन्छ भन्दै दृष्टीले समाचार छापेको छ ।

कर्मचारीले बद्मासी गरेकै कारण अहिले बैंकले क्षेत्रीय कलस्टर प्रमुख, लुम्बिनी शाखा प्रबन्धक, कर्मचारी सबैलाई सरुवा गरेर नयाँ कर्मचारी पठाएको छ । यसले पनि बैंकले बद्मासी गरेको पुष्टि हुने संघका अध्यक्ष श्रेष्ठ बताउँछन् । बैंकले थाहा नदिई मिश्रको होटल आफ्नो नाममा गराए पछि बैशाख ३ गते होटल व्यवसायी, स्थानीय र निजी क्षेत्रका अगुवाहरु लुम्बिनी पुगेर बैंकमा केहीबेर तालाबन्दी समेत गरेका थिए ।

त्यसपछि बैंक तत्कालीन कलस्टर प्रमुख मिलन कोइराला, निजी क्षेत्रका प्रतिनिधि, पीडित मिश्र, प्रहरी बसेर लुम्बिनी छलफल भएको थियो । उक्त छलफलमा बैंकका प्रतिनिधिले केही त्रुटी भएको भन्दै आफूहरुले मिश्रलाई सहयोग गर्ने जनाएका थिए । तर, अहिलेसम्म कस्तो किसिमको सहयोग भन्ने बैंकले खुलाएको छैन ।

‘मैले पैसा तिर्छु भनेकै छु, तिरिरहेको पनि छु तर, मलाई नै थाहा नदिई गैरकानुनीरुपमा बैंकले म माथि गर्यो’, मिश्रले भने, ‘होइन् भने सबै कर्मचारी सरुवा किन गर्नुप¥यो ? बैंकले आफ्नो गल्ती लुकाउन यो सब गरिरहेको हो ।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी लगायतका कारण यस क्षेत्रमा व्यवसायीले लगानी गरिरहेका छन् । तर, विमानस्थल पूर्ण क्षमतामा चलेको छैन । लुम्बिनी कोरोना पछि उल्लेख्य पर्यटक आएका छैनन् । यस्तो बेला व्यवसाय कम चलेको छ । यही मौकामा एनआईसी एशिया बैंकले व्यवसायीमाथि अन्याय गरिरहेको व्यवसायी बताउँछन् ।