एनसिएचएलको १५औं वार्षिकोत्सव सम्पन्न

-


     सुचनाको हक     
     पौष ११ गते २०८० मा प्रकाशित


नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले १५औं वार्षिकोत्सव मनाएको छ।

पुस ८ गते काठमाडौंको होटल अलफ्टमा औपचारिक कार्यक्रमको आयोजना गरी कम्पनीले वार्षिकोत्सव मनाएको हो।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पुस ८ मा एनसिएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो।

एनसिएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरू तथा एससिटिको ९ करोड रूपैयाँभन्दा कमको पुँजीबाट सुरू भएको कम्पनीले बताएको छ।

वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत सात जना कर्मचारीहरूलाई ‘लंग सर्भिस अवार्ड’ प्रदान गरेको थियो।

कर्मचारीहरूलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनसिएचएलका अध्यक्ष रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

एनसिएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यहरूबाट पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्शन’ अवार्ड प्रदान गरिएको थियो।

त्यसैगरी महालेखा नियन्त्रक कार्यालयलाई एनसिएचएल प्रणाली मार्फत् सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भूमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा एनसिएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को मर्जर तथा एक्विजिसन गर्नको लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको थियो।

दुवै कम्पनीका मर्जर तथा प्राप्ति समिति संयोजकदोय र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा उक्त समझदारीपत्र आदानप्रदान गरिएको थियो।