कटहरिया नगरपालिका, रौतहटका नगर प्रमुख अजय प्रकाश, नगर उप-प्रमुख रीता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसमेतलाइ भ्रस्टाचार मुद्धा

-


     सुचनाको हक     
     असार २१ गते २०८१ मा प्रकाशित


जिल्ला रौतहट, कटहरिया नगरपालिका, वडा नं. २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि रकम बिनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला रौतहट, कटहरिया नगरपालिका अन्तर्गत आ.व. 2078/079 मा नगरपालिकाको वडा नं. 2 जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स फ्लोरिङको कार्य लागि उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी योजना सम्झौता गरी कार्य गर्दा भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४.४१ वर्ग.मी. रहेकोमा फिल्डमा ७२०.८१ वर्ग.मी.मात्र रहेको देखिएकोले फिल्डमा भए गरेको कार्य भन्दा बढी परिमाण ४७३.६० वर्ग.मी.को नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तयार गरी अनुगमन समितिबाट सोही परिमाणको कार्य सम्पन्न भएको भनी प्रतिवेदन दिई दिन लगाई सोही सिफारिसको आधारमा कम काम भएकोमा बढी काम भएको देखाई रु.१२,५२,९४१।९५ बढी भुक्तानी लिई/दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीउपर देहायबमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

देहाय:-

क.  कटहरिया नगरपालिका, रौतहटका नगर प्रमुख अजय प्रकाशले कटहरिया न.पा. वडा नं. २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवन निर्माण योजना अन्तर्गतको टायल्स फ्लोरिङको कार्यमा आ.व. २०७८/०७९ मा प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानबाट कार्य संचालनको लागि मिति २०७९/०२/२५ गते आफ्नो अध्यक्षतामा बैठक बसाई सरोज कुमार साहको अध्यक्षता रहने बौद्धिमाई उपभोक्ता समिति कटहरिया-२ गठन गर्ने निर्णय गरी मिति २०७९/०२/३१ गते उपभोक्ता समिति गठन भएको सम्वन्धमा पत्राचार गरेको साथै उक्त सामुदायिक भवनमा टायल्स लगाउने कार्यको योजना सम्झौता फारममा रोहवरमा बसी हस्ताक्षर गरेको र उपभोक्ता समितिलाई भए गरेको काम भन्दा बढी भुक्तानी दिने बदनियतले नगर कार्यपालिकाको कार्यालय, कटहरिया रौतहटलाई रकम भुक्तानी दिने सम्बन्धमा आफैले हस्ताक्षर गरी आफ्नै कार्यालयलाई पत्राचार गरेकोमा सोही बमोजिम रु.१२,५२,९४१।९५ उपभोक्ता समितिलाई बढी भुक्तानी भए गरेको देखिएबाट निज नगर प्रमुख अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.१२,५२,९४१।९५ (बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पैसा पन्चानब्बे) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय हुन मागदाबी लिइएको छ।

ख.  कटहरिया नगरपालिका रौतहटका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह र न्जिनियर राजेश कुमार साहले उक्त योजनाको आफू समेतले स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नापजाँच गरी कम काम भएको गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताव तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत दिई भुक्तानीको लागि सिफारिस एवं प्राविधिक मूल्याङ्कन सहितको नापी किताब प्रमाणित गरी रु.१२,५२,९४१।९५ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको देखिएकोले निजहरु राम प्रकाश साह र राजेश कुमार साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.१२,५२,९४१।९५ (बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पैसा पन्चानब्बे) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय हुन साथै गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी सोहीको आधारमा भुक्तानी सदर तथा भुक्तानीको लागि पेश गरी सोही प्रतिवेदनको आधारमा भुक्तानी समेत गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।

ग.  कटहरिया नगरपालिकाका नगर उपप्रमुख रीता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिश बिक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, न्जिनियर मो.मकसुद आलमले आ.व. 2078/079 मा कटहरिया नगरपालिका वडा नं. २ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवन निर्माण योजना अन्तर्गत उक्त भवनमा टायल्स फ्लोरिङको काममा नगरपालिकास्तरीय अनुगमन समितिबाट अनुगमन गरी नभए/नगरेको कामसमेत भएको भनी गलत कार्य सम्पन्न प्रतिवेदन दिई उक्त निर्माण कार्यमा बढी भुक्तानी भएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।घ.   बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहले  शर्त एवं सम्झौता विपरीत सम्झौता बमोजिमको कार्य नगरी भए गरेको कार्य भन्दा बढी कार्य गरेको भनी बढी मूल्याङ्कन गरी गराई रु.१२,५२,९४१।९५ बढी भुक्तानी लिएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु.१२,५२,९४१।९५ (बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैया पैसा पन्चानब्बे) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन मागदाबी लिइएको छ।