नेपालगंजमा जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

-


     सुचनाको हक     
     असार २ गते २०८१ मा प्रकाशित


वडास्तरका जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधी र कर्मचारीहरुलाई सूचनाको हक र सुशासनका बारेमा जानकारी गराइएको हो । 

अभिमुखीकरणमा सूचनाको हकको प्रयोग, उपयोगिता, फाईदा, सूचना प्रवाह, सूचनाको हक सम्वन्धी ऐन, स्थानीय तहमा सुशासनको पारदर्शिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा सूचना अभियन्ता अधिबक्ता विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीय तहमा सुशासनको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता गर्दै वडाबासीलाई चाहिने सबै सूचना सहज रुपमा प्रवाह भईरहेको जानकारी दिनुभयो । उहाँले वडा कार्यालयबाट गुणस्तरिय सेवा उपलब्ध भईरहेपनि कसैलाई कुनै बाधा अवरोध भएमा तत्काल जनप्रतिनिधीलाई जानकारी गराउन आग्रह गर्नुभयो । 

कार्यक्रममा कार्यपालिका सदस्य विना थापा, वडा सदस्यहरु दिपेन्द्रकुमार श्रेष्ठ, भरतध्वज शाही, मिना चमार, वडा सचिव शान्ता घर्ति लगायतले आ–आफ्नो जिज्ञासा राख्नुभएको थियो । 

अभिमुखीकरणमा वडासमितिका पदाधिकारी र विषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।