प्रहरीमा डिआईजीको प्रतिस्पर्धामा को–को ?

-


     सुचनाको हक     
     चैत्र २० गते २०७९ मा प्रकाशित


नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले पद बहाली गरेको दोस्रो दिनमा नै वरिष्ठताको आधारमा एआइजी बढुवा निकाल्न सफल भएका छन् । २०७९ चैत १३ गते सोमबार चार डिआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो । सम्भवत आज २०७९ चैत २० गते सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजी बढुवाको नियुक्ति गर्नेछ ।


 डिआईजीको वरीयता अनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा नै आइजीपी हुन सफल भएका छन् । यो बढुवाले एआइजी दीपक थापालाई भने चुनौती थपिएको छ । दुई वर्षपछि आईजीपी नियुक्ति गर्दा उनका दुई प्रतिस्पर्धी पनि थपिएका छन् । एआइजीपीमा बढुवा सिफारिस भएका  गिरी र तामाङ उनीसँगै २०५२ भदौमा भर्ना भएका हुन् । जसअनुसार अबको आईजीपीका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।


सो ब्याचका केही अधिकृतहरू भने डिआइजीबाटै अवकाश हुने सम्भावना बढेको छ । जसमा उमेशराज जोशी, रामदत्त जोशी, भीम ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणालगायत रहेका छन् ।

 
डिआईजीमा को–को बढुवा होलान ?
सरकार र आईजीपी कुँवरको अबको चासो डिआइजी बढुवामा रहेको छ । अहिले डिआइजीका लागि १३ पद रिक्त रहेका छन् । जसमा १८ एसएसपीबीच प्रतिस्पर्धा हुने भएको छ । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा आईजीपी कुँवरले वरीयता अनुसार नै बढुवा गर्छन् कि २०७९ असार मसान्तसम्मको कार्यसम्पादन मूल्यांकन हेरेर तलमाथि गर्छन् ? यो चाहिं प्रतिक्षाका घडी भएको छ । हिजोको बढुवाको वरीयतामा चाहिं एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुमार खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली र कृष्णहरि शर्मा पोखरेललाई बढुवा गर्नुपर्ने हुन्छ । तर, कार्यसम्पादनका साथै बीचमा बिचौलियाहरू वरीयताक्रम मिचेर अरूलाई पनि बढुवा गर्ने पक्षमा चलखेल गरिरहेको जानकार स्रोत बताउँछ ।


कार्यसम्पादन मूल्यांकन हेरिएन भने वरीयता मिचेर बढुवा हुन एसएसपीहरू चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनालले प्रतिस्पर्धा गरिरहेका छन् । एसएसपी बढुवामा पछि परेका खनाल अहिले बढुवा नभए एसएसपीको उमेरहदका कारण २०८० वैशाखमै अवकाशमा जानेछन् । त्यसकारण उनलाई बढुवा गर्नै पर्ने बाध्यतामा प्रहरी हेडक्वार्टर भित्र चर्चा चलेको छ । हाल उनी लागू औषध अनुसन्धान व्युरोको का.मु. प्रमुख रहेका छन् ।


डिआइजीमा वरीयताभन्दा कार्यसम्पादन र कार्यक्षमता हेरिने सम्भावना अधिक रहेको छ । किन भने पूर्व आईजीपी धिरज प्रताप सिंहले पूर्व वरीयता नमिचि पाँच जनालाई एआईजीमा बढुवा गरेका थिए । आईजीपी कुँवरले पनि २०७९ असारसम्मको कार्यसम्पादन कै आधारमा वरीयता नमिचि चार जनालाई एआईजी बढुवामा सिफारिस गरेकाले डिआईजी बढुवामा पनि आईजीपी कुँवर वरीयता नमिच्ने पक्षमा रहेको उनी निकट स्रोतले बताएको छ ।


एसएसपी बढुवामा पनि चासो
डिआइजीसँगै एससपी बढुवामा पनि मारामार हुने सम्भावना बढेको छ । अब एसएसपी हुने मध्येबाट पाँच वर्षपछि आइजीपी चयन हुने भएकाले पहिलो स्थानमा पर्न एसएसपीमा प्रतिस्पर्धा र चलखेल बढेको छ । यसअघि केपी शर्मा ओली सरकारको पालामा भएको एसएसपी बढुवामा सानुराम भट्टराईले पहिलो नम्बरमा बाजी मारेका थिए ।


उनीपछि ओम अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्ण पल्लीमगर, भुपेन्द्र खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रवि पौडेल, बेल पाण्डे, दीपशम्शेर जबरा, प्रवीण पोखरेल, वसन्त रजौरेलगायत बढुवा भएका थिए । यिनै माथि उल्लेखित नामबाट २०७९ असार मसान्तसम्मको कार्यसम्पादन मूल्यांकनका आधारमा एसएसपी बढुवामा पर्ने सम्भावना रहेको बताइन्छ ।