व्यापारीबाट मोबाइल र पैसा ठगेको आरोपमा दुई जना प्रहरी नै पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका दुई बहालवाला प्रहरी पक्राउ परेका हुन्।
महोत्तरी गाउँपालिका-५ घर भएका ३४ वर्षीय प्रहरी सहायक हवल्दार दिपेन्द्रकुमार राज र सुनसरीको देवानगंज गाउँपालिका-२ घर भएका २१ वर्षीय प्रहरी जवान रोशनकुमार यादव पक्राउ परेका हुन्।
उनीहरू दुबै जनाले आपराधिक लाभ लिने नियतले पीडितबाट विभिन्न कम्पनीका ३१ वटा मोबाइल लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।
ती मोबाइल फिर्ता गर्नका लागि पीडितबाट उनीहरूले दुई लाख रुपैयाँ समेत लिएको र मोबाइल फिर्ता पनि नगरेको भन्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी परेको थियो।
पक्राउ परेका दुई प्रहरीबाट व्यापारीका ३१ वटा फोन पनि बरामद भएको छ।
ती फोन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित रहेको अन्जनी माई कुट्टीको उत्तरतर्फ एक झाडीमा ब्याग भित्र फेला परेको थियो।
त्यस्तै व्यापारीबाट असुली गरेको दुई लाखमध्ये ९५ हजार रुपैयाँ मात्रै बरामद गरेको एसपी महतोले बताए।
उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।