माओवादी र समाजवादीले ११ उपमहानगरमा ७ मा दावी गरेपछि तनावमा कांग्रेस

-


     सुचनाको हक     
     वैशाख ५ गते २०७९ मा प्रकाशित


माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनमा क्रमशः चार र तीनवटा उपमहानगरपालिकामा दाबी गरेका छन् । देशभरका ११ वटा उपमहानगरमा दुईवटा पार्टीले ७ वटा उपमहानगरमा दावी गरेपछि कांग्रेस भने तनाबमा परेको स्राेत बताउछ । जनकपुर उपमहानगर स्वतः जसपाको दावीमा पर्छ । थप अर्को उपमहानगर पनि जसपाको दावीमा रहेका कारण कांग्रेस तालमेलको समस्या परेको हो ।


माओवादीले आफ्नो प्रभाव क्षेत्र रहेको भनिएका धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगर दावी गरेको छ । माओवादीले धरान दावी गरेपनि उसको दावी अनुसार बलियो भने होइन् । एमालेको बलियो पक्कड भएको यो पालिका खासमा वामपन्थी किल्ला भने हो ।

उपनिर्वाचनमा कांग्रेसले मेयर जितेको थियो । नेकपाभित्रको किचलो चर्को भएका बेलामा भएको उपनिर्वाचनमा वामपन्थीको किल्ला धरान गुमाएको थियो । अहिले त्यही किल्ला फर्काउने र आफ्नो भागमा पार्ने माओवादीको दाऊ छ ।


तर, कांग्रेस यसपटक धरान छोड्ने पक्षमा देखिएको छैन । यता, माओवादीले दावी गरेको जितपुर सिमरा एमालेले जितेको पालिका भएपनि माओवादी केन्द्रको प्रभाव भने राम्रै छ । कांग्रेसकै हाराहारीमा जनमत रहेको माओवादीले मधेशको उपहानगरमा पहिलादेखि नै आँखा लगाएको उपमहानगर हो ।


  नेपालको अद्यौगिक क्षेत्रसमेत रहेको यो क्षेत्र वीरगञ्जपछिको आर्थिक गतिविधि हुने पालिकामा पर्दछ जितपुर सिमरा । यता, हेटौंडा उपमहानगर पनि वामपन्थीको गढ हो । ०४८ सालदेखि नै निरन्तर वामपन्थीले जित्दै आएको यो पालिकामा माओवादीभन्दा एमालेको प्रभाव बलियो छ ।


 विभाजनपछि पनि यो पालिकामा एमाले कमजोर देखिएको छैन । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले हाँकेको यो पालिका एमालेका लागि भने प्रतिष्ठाको विषय हो । तर, यो पालिकामा एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।


  एकीकृत समाजवादीका नेताहरु विरोध खतिवडा र मुनु सिग्देललगायतका नेताहरुको जिल्ला भएकोले उनीहरुले झनै चासोका साथ हेरेका छन् । एमालेबाट विभाजित भएका कारण एमालेले जितेकाका पालिकामा पहिलो हक लाग्छ भन्दै   एकीकृत समाजवादीले हेटौंडा दावी  गरेका हुन् । हेटौंडाको उपमेयर एमाले छोडेर एकीकृत समाजवादीमा लागेकी छिन् । उनैलाई मेयर बनाउने संभावना रहेको छ ।


यता माओवादीले मागेको घोराही उपहानगर पालिका भने नेता कृष्णबहादुर महराको क्षेत्र पनि हो । दाङमा कांग्रेसपछिको बलियो शक्तिकै रुपमा माओवादीलाई पनि हेरिन्छ । त्यसैले तुलसीपुर र लमही कांग्रेसलाई दिएर घोराही आफूले पाउनुपर्ने माओवादी तर्क छ । यो क्षेत्रमा रोल्पा, प्यूठानबाट झरेकाहरुको बाहुल्य क्षेत्र पनि हो । त्यसैकाे आधारमा माओवादीले दावी गरेको पनि बताइन्छ ।


यता, एकीकृत समाजवादीले हेटौंडाबाहेक इटहरी उपहानगरपालिका पनि दाबी गरेको छ । इटहरी एमालेले जितेको थियो । सुनसरीमा एमाले नेताहरुमध्ये केही नेताहरुले एमाले छोडेर समाजवादीमा लागेका छन् । झापा, मोरङको तुलनामा बलियो जनमत सुनसरीमै रहेको छ ।

एकीकृत समाजवादीका नेताहरु धर्मराज निरौला, केशव विष्टहरुको प्रभाव बलियो भएका कारण पनि उनीहरुले दाबी गरेका हुन् । अझ, त्रियुगाका मेयर बलदेव चौधरी, मुख्यमन्त्री राजेन्द्र राईको प्रभाव पनि इटहरीमा भएकोले चुनाव जित्न सकिने आंकलनसहित उनीहरुको दाबी रहेको बताइएको छ ।


त्यसबाहेक एकीकृत समाजावदीले बुटवल वा तुलसीपुर उपहानर मागेका छन् । बुटवल चाहिं एकीकृत समाजवादीको खासै प्रभाव भएको पालिका होइन । तर, बुटवल महानगरमा पत्रकार बालकृष्ण चापागाईले एकीकृत समाजवादीबाट टिकट दाबी गरेका छन् । तर, तुलसीपुरमा भने एमालेको नगर कमिटी नै एकीकृत समाजवादीमा लागेका छन् ।

यो क्षेत्रको सांसद हिराचन्द्र केसी पनि एकीकृत समाजवादीमै लागेका छन । यता, कांग्रेसबाट पनि केन्द्रीय सदस्य गेहेन्द्र गिरीसहितका प्रभावशाली नेताहरुले मेयरमा दावी गरेका छन् । यसले गर्दा उपमहानगरको सत्ता बाँडफाँड पेचिलो बनेको देखिएको छ ।