विद्यार्थीबाट नियम बिपरित ११ लाख उठाएपछी अख्तियारले चलायो मुद्दा

-


     सुचनाको हक     
     चैत्र १६ गते २०८० मा प्रकाशित


शिक्षा नि:शुल्क हो ८ कक्षा सम्म त पढ़िदिय बापत पैसा पाइन्छ तर बिभिन्न बहानामा निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षकलाई तलब खुवाउन विद्यार्थीहरूबाट चर्को शुल्क असुल्छन यसरि शुल्क असुलेको आरोपमा दुई जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको वेलामा सञ्चालित श्री जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोखरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले विद्यार्थीबाट उठाएको ११ लाख १२ हजार दुई सय ७६ रुपैयाँ ७० पैसा अनियमितता गरेको आरोप छ । 

शैक्षिक सत्र २०७२ र २०७३ मा विद्यार्थीबाट उठाएको रकम लेखापाल पोखरेलले लेखा स्रेस्ता दुरुस्त नराखेको, रसिद अनियन्त्रित रूपमा प्रयोग गरेको, कतिपय अवस्थामा रसिदको प्रयोग नगरी रकम लिएको, विद्यार्थीहरूबाट दोब्बर दस्तुर लिएको, रसिदमा उल्लेख गरेकोभन्दा बढी रकमसमेत लिने गरेको, राखेको लेखा स्रेस्ताले स्पष्ट विवरण दिन नसकेको, रसिद नियन्त्रण खाता नभएको, कुनै कारोबारमा रसिद प्रयोग नगरी कागजको चिटको भरमा रकम उठाएको आयोगको अनुसन्धानबाट खुलेको छ । 

आयोगका अनुसार उनले विद्यार्थीबाट उठेको रकम मनोमानी खर्च गरेको र तत्कालीन समयमा छानबिन समितिले पोखरेलको नाममा बेरुजुसमेत देखाएको र सो बैठकमा आफूसमेत सामेल भएर निर्णय स्वीकार हस्ताक्षर गरेका थिए । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरेलले विद्यार्थीबाट उठेको ८ लाख ९२ हजार दुई सय ६७ रुपैयाँ ७० पैसा बराबरको रकम विद्यालय व्यवस्थापन समितिलाई कुनै पनि हिसाब नदेखाएको र बैंकमा डिपोजिट समेत नगरी हिनामिना गरेको देखिएको छ । उनी विरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो ८ लाख ९२ हजार दुई सय ६७ रुपैयाँ ७० पैसा कायम गरी कैद सजायको मागदावी लिएर विशेषमा मुद्दा दर्ता गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूखुसी चेक काटी रकम निकासा गरेको, तर उक्त चेक के का लागि काटिएको भनी उल्लेख नगरी निकासा भएको रकमको खर्चको विवरणसमेत नराखेको पाइएको छ । विद्यालयको आ.व. २०७२ /०७३ को लेखापरीक्षण प्रतिवेदनमा समेत चौधरीले आफ्नो नाममा दुई लाख २० हजारको चेक काटी रकम झिकेका थिए । तर, उक्त रकम के का लागि झिकेको भनेर उनले खुलाएका थिएनन् । चौधरी आफैँले रकम हिनामिना गरेको पुष्टि भएपछि आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो दुई लाख २० हजार र कैद सजायको मागदावी लिएको जानकारी प्रवक्ता घिमिरेले दिए । हेर्नुहोस् अख्तियारको प्रेस बिज्ञप्ति

जिल्ला दाङ्ग, वेला गा.वि.स.-1 मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2072 र 2073 मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट निजी श्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणी पोख्रेलले आ.व. 2072/073 मा लेखा श्रेस्ता दुरुस्त नराखेको, रसिद अनियन्त्रित रुपमा प्रयोग भएको, कतिपय अवस्थामा रसिदको प्रयोग नगरी रकम लिएको, विद्यार्थीहरुबाट दोब्बर दस्तुर लिएको, रसिदमा उल्लेख गरेकोभन्दा बढि रकमसमेत लिने गरेको, राखेको लेखा श्रेष्ताले स्पष्ट विवरण दिन नसकेको, रसिद नियन्त्रण खाता नभएको, कुनै कारोबारमा रसिद प्रयोग नगरी कागजको चिटको भरमा रकम उठाएको, विद्यार्थीबाट उठेको रकम मनोमानी खर्च गरेको, तत्कालीन समयमा छानबिन समितिले विद्यालयको आ.व.072/73 को आयव्ययको विवरण सार्वजनिकरण गर्ने बैठकमा सामेल भई हस्ताक्षर गरेको र अभिभावक सहितको बैठकमा उक्त प्रतिवेदन अनुमोदन भएको जसमा निज लेखापाल चुडामणी पोख्रेलको नाममा बेरुजुसमेत देखाएको र सो बैठकमा आफूसमेत सामेल भएर निर्णय स्वीकार हस्ताक्षर गरेको, बचत रहेको रु.8,92,267।70 बराबरको रकम विद्यालय व्यवस्थापन समितिलाई कुनै पनि हिसाब नदेखाएको र बैंकमा डिपोजिट पनि नदेखिएकोले निज चुडामणी पोख्रेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.8,९2,267।70 (आठ लाख बयानब्बे हजार दुई सय सतसठ्ठी रुपैयाँ सत्तरी पैसा) कायम गरी सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा 17 बमोजिम बिगोसमेत असुल उपर हुन मागदावी लिइएको छ।

श्री जनज्योति माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिक अध्यक्ष जगदिश चौधरीले आफूखुसी चेक काटी रकम निकासा गरेको, तर उक्त चेक के का लागि काटिएको भनी उल्लेख नभएको र निकासा भएको रकमको खर्चको विवरणसमेत नराखेको, विद्यालयको आ.व. 2072/073 को लेखापरीक्षण प्रतिवेदनमा समेत प्रतिवादीले आफ्नो नाममा रु.2,20,000/- चेक काटी रकम झिकेको तर के का लागि भनी नखुलेकोबाट निज जगदिश चौधरीले उक्त रकम हिनामिना गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.2,20,000/- (दुई लाख बीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा 17 ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा 17 बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।