सिंगो गाउँ नै ‘भूमाफिया’को कब्जामा

- पोखरामा पनि यसरि जग्गा हडप्ने गोरोह सक्रिय रहेको छ

-


     सुचनाको हक     
     वैशाख ९ गते २०८० मा प्रकाशित


सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका— ७ का अधिकांश नागरिक घरजग्गाविहीन बन्न पुगेका छन्। केही समय जग्गा धितो राख्न मञ्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा उनीहरू घरजग्गाविहीन बनेका हुन् ।

तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्नै भइरहने भन्दै दलालले फकाएपछि क्षणिक प्रलोभनमा पारेर लाखौंको जग्गा भूमाफियाको कब्जामा पुगेको हो। 

यस्तै समस्यामा पर्ने एक हुन्, चौतारा साँगाचोकगढी नगरपालिका—७ नेपानेका आइतराम तामाङ। उनका पाँच छोरा छन्। पाँच छोराका पाँच बुहारी र ११ नातिनातिनीसहित तीन वटा घरमा बसिरहेका उनको घर भूकम्पले भत्किएपछि टहरो बनाएर जसोतसो बस्दै आएका थिए। ठेगाना नखुलेका राजकुमार हुमागाईं नामका व्यक्ति आएर डेढ लाख रुपैयाँ पैसा दिन्छु, घर बनाउनुस् र हामीलाई लालपुर्जा दिनुस् भनेपछि उनी पुर्जा दिन तयार भए।

६ महिनामा जग्गा फिर्ता पाउने र डेढ लाख आफ्नै हुने प्रलोभनमा उनले जिल्ला अदालत काठमाडौंमा गएर मञ्जुरीनामामा ल्याप्चे लगाइदिए। बाँकी पैसा पछि दिन्छु भनेपछि उनी ७० हजार लिएर घर फर्किए। त्यसपछि न उनले बाँकी पैसा पाए, न त ६ वर्ष बित्दासमेत जग्गा नै फिर्ता पाएका छन्। घरसहित ४ रोपनी ७ आना जग्गा भूमाफियाले कब्जा गर्दा उनी अहिले घरजग्गाविहीन बन्न पुगेका छन्।

पोखरामा पनि पोखरा १७ बिरौटा बस्ने कृष्ण अर्यालको समुहले आफ्नो जग्गा यसरि नै हडपेको सोहि वडाका भिम प्रसाद आचार्य बताउनुहुन्छ

सोही ठाउँका कर्णबहादुर भारती र पदमकुमारी भारती श्रीमान् श्रीमती हुन्। २०६८ सालमै उनै हुमागाईंले पटकपटक भारतीको घरमा आउने र उनीहरूलाई फकाउने काम गरे। हरेक पटक घरमा आएर फकाउने गरेपछि उनीहरू आ–आफ्नो नाममा भएको जग्गा हुमागाईंलाई दिन राजी भए। ४ रोपनी जग्गाबापत ८० हजार रुपैयाँ कर्णबहादुरले पाए भने २ रोपनी जग्गाको ५० हजार उनकी श्रीमती पदमकुमारीले पाइन्। घर जग्गा सबै रोक्का भएपछि भारती दम्पती अहिले न्यायको खोजीमा भौंतारिरहेका छन्। सरकारी मूल्यांकनमा पनि सो जग्गाको मूल्य प्रतिरोपनी १६ लाख रहेको छ। 

ईश्वरी अधिकारी नाताले कृष्णप्रसाद अधिकारीका दाजु हुन्। दाजुले आफ्नै जग्गा पनि धरौटीको लागि धितो राख्न हुमागार्इंलाई बुझाएर पैसा लिएको उनलाई थाहा थियो। दाजुकै सल्लाहमा कृष्णप्रसादले पनि आफ्नो १२ रोपनी जग्गा दुई लाख रुपैयाँ लिएर मञ्जुरीनामा दिए। केही पैसाको लोभमा पर्दा आफ्नो जग्गा हडप्न कुन दिन को आइपुग्छ भन्ने चिन्ताले अहिले उनलाई पिरोल्ने गरेको छ। 

कागजपत्र लिएर कोही टुप्लुक्क आइपुगेमा आफ्नै घरजग्गा सबै छाडेर खाली हात हिँड्नुबाहेक दोस्रो विकल्प उनीसँग छैन। उनीजस्तै उनका दाजुभाइहरूको पनि धेरैको जग्गा यसरी बन्धक बनेको छ। केही दाजुभाइ त घर छाडेर अन्यत्रै गइसकेका खानीगाउँकै गोविन्द उपाध्याय अधिकारी बताउँछन्।

खानीगाउँकै जितबहादुर घलेले त परिवारमा सल्लाह नै नगरी तीन रोपनी जग्गा रोक्का गरिदिए। परिवारलाई थाहै नदिई तीन÷चार दिन लगाएर हेटौंडा र पुल्चोकमा पुगेर मञ्जुरीनामा दिएको बताउने जितबहादुर एक लाख रुपैयाँ लिएर घर आए। त्यसपछि त्यो पैसा श्रीमती सुन्तलीमाया घलेलाई दिँदा रकमै आगोमा फालिदिइन्। एउटा नोट जलेर बाँकी रकम ईश्वरी अधिकारीलाई नै फिर्ता गरिदिएका उनीसँग न पैसा छ, न त जग्गा नै। 

साबिक सानोसिरुवारी गाविस— ४ र ५ मा मात्रै बीसौं परिवारको जग्गा यसरी रोक्का रहेको छ। उनै ईश्वरीले घरसल्लाह नगर्नु भनेपछि जितबहादुर लुसुक्क हेटौंडा पुगेका थिए। २०६८ सालदेखि स्थानीय इन्द्रप्रसाद दुलाल, ईश्वरी अधिकारी, भरत न्यौपानेलगायत विभिन्न व्यक्तिमार्फत राजकुमार हुमागाईंले सो क्षेत्रमा जग्गा कारोबार गर्न थालेका हुन्। करिब २०७५ सालसम्म गाउँ आउने गरेका हुमागाईं त्यसपछि यता देखिएका छैनन्। हुमागाईं हराएपछि भने स्थानीय अत्तालिएका हुन्।

२०७१ सालमा ६ महिनामा फिर्ता आउँछ भनेर २ लाख ५० हजार रुपैयाँ लिएर २२ रोपनी जग्गा मञ्जुरीनामा दिएका नारायणबहादुर थापा मगरसँग अब दुई रोपनी जग्गामात्रै आफ्नो नाममा बाँकी छ। 

गाउँकै इन्द्रप्रसाद दुलालमार्फत हुमागाईंलाई जग्गा दिएका थापामगरलाई दुलालले छिट्टै जग्गा फिर्ता आउँछ भनेको पनि लामो समय भइसक्यो। तर, उनले जग्गा पाउने आस नै मारिसके। सुरुसुरुमा केही बाँझो रहेको पाखो बारी धितो राखेर तोकिएकै समयमा फिर्ता समेत गराएपछि स्थानीय जग्गा दिन हौसिएका हुन्। अहिले सम्पर्कमा आएका र नआएका समेत गरी सोही क्षेत्रमा मात्रै ५० जनाभन्दा धेरैको तीन सय रोपनीभन्दा धेरै जग्गा धितो राखिएको आकलन छ। 

गाउँ नै भूमाफियाको कब्जामा रहेको सूचना आफूहरूलाई प्राप्त भएको र सोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘स्थानीयले यो बारेमा हामीलाई लिखित र मौखिक जानकारी दिएका छन्’, जिल्ला प्रहरी प्रमुख बालनरसिं राणाले भने, ‘लामो समयदेखिको घटना र जग्गा दलालीहरूको बारेमा पनि कुनै जानकारी नभएकोले हामीले भित्री रूपमा यसको अनुसन्धान गरिरहेका छौं।’ 

जग्गाका स्थानीय बिचौलियाहरू अझै पनि यही पेसामा सक्रिय रहेको जनप्रतिनिधिहरू बताउँछन्। ‘बेलैमा होसियार नहुने हो भने अझै धेरै सोझा साझा जनताको जग्गा भूमाफियाको कब्जामा पर्ने देखिन्छ’, चौतारा साँगाचोकगढी नगरपालिका—७ का वडाध्यक्ष डम्बरबहादुर तामाङले भने, ‘गाउँ नै भूमाफियाको कब्जामा परेको देखियो। यहाँका अधिकांश प्रलोभनमा परेर अहिले सुकुम्बासी बन्न पुगेका छन्।’ यसको समाधान खोज्न न्यायिक क्षेत्रसँग समन्वय गरिरहेको उनले बताए।