सूचना आयोगमा आयुक्त सिफारिस, कांग्रेसको भागमा प्रमुख आयुक्त

-


     सुचनाको हक     
     कार्तिक २२ गते २०८१ मा प्रकाशित


राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिस भएका छन् । सोमबार आयोगको रिक्त प्रमुख आयुक्तमा सुरेश आचार्य तथा आयुक्तहरुमा गगन विष्ट र दुर्गा भण्डारीको नाम सिफारिस भएको हो ।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

आयोगको प्रमुख आयुक्तमा सिफारिस आचार्य नेपाल पत्रकार महासंघका पूर्व सभापति हुन । त्यस्तै विष्ट नेकपा एमाले निकट प्रेस चौतारीका पूर्व अध्यक्ष तथा एमालेको प्रचार तथा प्रसार विभागका सचिव हुन् । भण्डारी प्रेस काउन्सिलकी पूर्व कार्यवाहक अध्यक्ष तथा पत्रकार महासंघकी पूर्व सदस्यसमेत हुन् ।

यस अघिका आयोग पदाधिकारीको कार्यकाल सकिनुअघि नयाँ सिफारिस गर्नुपर्ने व्यवस्था अनुरुप आचार्य,विष्ट र भण्डारीको नाम सिफारिस गरिएको हो । यसअघि सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेस गर्न आव्हान गरेको थियो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिलाई राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरणसहित योग्यताका प्रमाणित प्रतिलिपिसहित पेस गर्न भनिएको थियो ।

ऐनको दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ। समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन्।

प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनु पर्दछ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने हुन्छ ।

सूचना आयोगको पदाधिकारीमा सत्ता गठबन्धनका मूख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर लिएका छन् । प्रमुख आयुक्तमा सिफारिस आचार्य नेपाली कांग्रेस र अन्य दुई आयुक्तहरुमा विष्ट र भण्डारी नेकपा एमालेको कोटाबाट सिफारिसमा परेका हुन् । पछिल्लो समय संवैधानिक आयोगमा राजनीतिक दलहरुले आफू निकटलाई नियुक्ति दिनेक्रम बढ्दो छ । यसैलाई निरन्तरता दिँदै सूचना आयोगमा पदाधिकारी सिफारिस भएका छन् ।