आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाहरुबाट उम्मेदबारका लागि सिफारिस आएको छ । माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेश अन्तर्गत १२३ जनाको नाम जिल्लाबाट सिफारिस भएको प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने रातोपाटीलाई बताए ।
उनका अनुसार रुकुमपूर्व बाहेक अन्य जिल्लाबाट पूर्व संसाददेखि स्थानीय तहमा उम्मेदवार बनेकासम्मलाई जिल्ला कार्यसमितिले उम्मेदवारका लागि सिफारिस गरेका छन् ।
यसरी लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको उम्मेदवारका रुपमा सिफारिस भएकामा पूर्व उपसभामुख पुष्पा भुसाल, सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत शाहदेखि केन्द्रीय सदस्य गेहेन्द्र गिरी, कृष्ण किशोर घिमेरे लगायत छन् ।
यस्तै प्युठानबाट डा.गोविन्द पोखरेल, गुल्मीबाट चन्द्र केसी पनि सिफारिस भएका छन् । भुसाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् । शाह रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका बाबुदेव घिमिरेसँग पराजित भएका थिए ।