जीवनी लेख्ने तरिका

-


     सुचनाको हक     
     माघ २४ गते २०७८ मा प्रकाशित


जीवनी भनेको कुनै व्यक्तिको जीवनलाई छर्लङ्ग पार्ने गरी लेखिएको क्रमबद्ध लेख हो । जीवनी मानिसले जीवनभरि गरेका कामकुराहरूको अभिलेख हो । साहित्यकै अङ्ग मानिने जीवनीलाई जीवन चरित्र वा जीवन चरित पनि भनिन्छ । जीवनीमा विशेष व्यक्तिको जीवनमा घटेका घटनाहरू तथा चरित्र, पेस आदि महत्त्वपूर्ण अंशहरू टिपेर उसले समाजमा दिएको योगदान लेखी त्यसको मूल्याङ्कन पनि समावेश गरिएको हुन्छ । राष्ट्र र मानव समाजकै उन्नतिका लागि महत्त्वपूर्ण देन दिने विशिष्ट व्यक्तिको जीवनी लेखिन्छ वा पढिन्छ ।

जीवनीले व्यक्तिको समग्र प्रामाणिक चिनारी दिने भएकाले जीवनी लेखकले सम्बन्धित व्यक्तिसित सम्बन्ध राख्ने विभिन्न सामग्रीहरू उपयोग गरेको हुन्छ । जीवनी लेख्ता दैनिकीचिठी, अभिलेख, उसका साथीहरूको संस्मरण, उसका बारेका पुस्तकहरू, फोटा तथा तस्वीर र अन्तर्वार्ताबाट उससम्बन्धी आफूले प्राप्त गरेको ज्ञान आवश्यक पर्दछन् । यहाँ लेखिने जीवनी भनेको पनि महत्त्वपूर्ण व्यक्तिको जीवनी नै हो, जसका लागि आवश्यक बुँदा टिपोट गरिएको हुन्छ ।

जीवनीमा शङ्कास्पद अनुमान र अतिकाल्पनिक उडन्ते कुराहरू तथा तथ्य नै बिग्रने गरी भवनमा बगेर गरिएका अतिशयोक्तिपूर्ण मूल्याङ्कन औचित्य भने रहँदैन । व्यक्तिलाई आकाशमा पुर्याउन प्रयोग गरिने अनावश्यक विशेषणहरूले पनि जीवनीलाई खल्लो बनाउँछन् । यसमा त प्रमाणित सत्य कुरा प्रस्तुत गरी सौन्दर्यपूर्ण भाषामा वस्तुपरक विश्लेषण गर्नुपर्दछ ।

जीवनी लेख्ने तरिका

  • दिइएका बुँदाहरूलाई विभिन्न उपशीर्षकहरूमा बाँड्नुपर्छ, जस्तै :
    • बाल्यकाल,
    • पारिवारिक जीवन,
    • प्रमुख कार्य,
    • योगदानको वर्णन,
    • पाएको भए पुरस्कार, सम्मान र
    • निष्कर्षात्मक मूल्याङ्कन ।
  • उपयुक्त शीर्षक दिएर जीवनी लेख्न सुरु गर्नुपर्छ ।
  • घटनाहरूलाई क्रमबद्ध रूपमा संयोजन गरी उपशीर्षक अनुसार फरकफरक अनुच्छेदमा लेख्तै जानुपर्छ तर कहिलेकाहीँ जन्म र बाल्यकाल पछाडि लेख्न पनि सकिन्छ ।
  • भाषामा सरलता र मिठास हुनुपर्छ ।
  • अनावश्यक ठट्टा, काल्पनिक सन्दर्भ वा अफबाहका कुराहरू समावेश गर्नुहुँदैन ।
  • तयार परेको जीवनीलाई भाषिक शुद्धताका साथ सफा लेखन गर्नुपर्दछ ।