जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिनुभएको हो ।
पाख्रिनले न्यायाधीश खतिवडामा कार्यसम्पादन क्षमता तथा खराब आचरण देखिएको भन्दै छानबिन गर्न माग गर्दै परिषद्मा उजुरी दिनुभएको छ । न्याय परिषद् ऐन, २०७३ ले न्यायाधीशमाथि कारबाहीको विभिन्न व्यवस्था गरेको छ । कार्यक्षमताको अभाव र बदनियत राखेको अवस्थामा परिषद्ले पहिलोपटक सम्बन्धित न्यायाधीशलाई सचेत गराउन सक्ने व्यवस्था छ । खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघनको हकमा भने न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले पदमुक्त गर्ने तथा सर्वोच्चका न्यायाधीशलाई भने संसद्को महाअभियोगबाट हटाइने संवैधानिक व्यवस्था छ । तर, मिडियामा आए जतिका कतिपय विवादमा समय लम्ब्याएर कारबाही गर्न ढिलाइ गर्ने र त्यसरी हुने कारबाही सामान्य सरुवा प्रकृतिका हुने पाइएको छ ।
न्यायाधीश खतिवडाले वन्यजन्तु तस्करीमा संलग्न कोरियन नागरिकलाई गत २६ असोजमा पाँच लाख सजाय सुनाएर सामान्य प्राकृतिको मुद्दाको जसरी न्याय निरुपण गरेको उजुरीमा उल्लेख छ । डिभिजन वन कार्यालय काठमाडौंले ति कोरियन नागरिकविरुद्ध कस्तुरीको बिना तस्करीमा संलग्न भएको आरोपमा १५ वर्ष कैद र १० लाख जरिवाना वा दुबै सजाय माग दावी गरिएकोमा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को मर्मविपरित फैसला गराई न्यायाधीशको काम कर्तव्य र अधिकारको दुरुपयोग गरी कार्यसम्पादन तथा न्यायनिरुपण गर्दा न्यायिक विचलन परी फैसला गरेको पाख्रिनले आरोप लगाउनुभएको छ ।
कस्तुरीको विना चोरी– तस्करीमा संलग्न भएका कोरियन नागरिकलाई दोषी ठहर गरे पनि ५ लाख धरौटीमा छाड्ने आदेश गरेपछि अनुसन्धान अधिकृतहरु पनि असन्तुष्ट रहनुभएको छ । अदालतले पाँच लाख रुपैयाँमा जरिमानामा छाड्न आदेश दिए लगतै कोरियन नागरिक स्वदेश फर्किसक्नुभएको छ । कोरियन नागरिक जंग जुनजुनले नेपालमा सयौ कस्तुरी मारेर तस्करी गरेको अनुसन्धानबाट खुलेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाले २१ असोजमा कोरियन नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेपनि २५ असोजमा सजाय निर्धारण गर्दा भने ५ लाख जरिमाना मात्रै भराउने फैसला गर्नुभएको थियो। कोरियन नागरिक जुन कस्तुरीको बिना तस्करीको लागि नेपालमा १६ पटकभन्दा बढी आउजाउ गरेको तथ्य समेत खुलेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेर अनुसन्धान गर्दा कस्तुरीको बिना आफूले तस्करी गरेर लैजान लागेको स्वीकार समेत गर्नुभएको थियो ।
संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा २० को खण्ड (क) अनुसारको अपराधको सजाय दाबी गरी ३१ भदौ ०७९ मा कोरियनविरुद्ध मुद्दा दायर भएको थियो । सो दफाअनुसारको अपराधमा कसुरको मात्राअनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १९ लाख जरिवनाा वा दुवै सजाय हुने प्रावधान छ । जसमा न्यूनतम पाँच लाख मात्र जरिवाना गरिएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।