जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत नारायण पार्धेलाई सेवाग्राहीबाट रु.७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेले काठ चिरानको सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु.७,०००।–(सात हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको हुँदा निज नारायण पार्धेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.७,०००।-(सात हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर भएको छ।