घुस खाएको आरोप लागेका अधिकृत पराजुली २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा

-


     सुचनाको हक     
     चैत्र १० गते २०८० मा प्रकाशित


पर्वतको कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर पराजुली २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीसँग करोड बढी घुस खाएको आरोपमा पक्राउ परेका पराजुलीलाई पुस १७ गते जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको फैसला बदर उच्च अदालत पोखराले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले मागेबमोजिम धरौटी रकम बुझाएर पराजुली शुक्रबार रिहा भएका हुन् । स्याङ्जा वालिङ नगरपालिका वडा नं। ११ निवासी पराजुली गत पुस ११ गते कुश्मा नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए । पोखरामा सहकारी रजिष्ट्रार हुँदा उनले मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने भन्दै करोडभन्दा बढी घूस लिएको आरोप छ ।

यसैगरी सहकारीका लेखा समिति सदस्य जनकराज पौडेल पनि सात लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार नै रिहा भएका छन् । गत पुस १७ मा जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारी सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई तत्कालका लागि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

सोही सहकारी ठगी प्रकरणमा पक्राउ परेका प्रतिवादीले मित्रमिलन सहकारीको कार्यक्षेत्र बिस्तार गर्ने क्रममा तत्कालीन रजिष्ट्रार पराजुलीलाई एक करोडभन्दा बढी रकम घूस दिएको बयान दिएपछि पराजुली पनि तानिएका थिए । सहकारीको करिब ३२ करोड आर्थिक अपचलन हुने गरी भएको ठगी अभियोगमा ३३ जनाविरुद्ध मुद्ध अघि बढाइएको छ । सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी समेत कारागार चलान भइसकेका छन् । उक्त प्रकरणमा पत्रकार अर्जुन गिरी, सल्लाहकार एवं सेयर सदस्य राजु बराल, सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागारमै छिन् ।

पोखरा २१ वडाध्यक्ष दीपक सुवेदीलाई अदालतले आठ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । यद्यपि उनी दुई करोड रुपैयाँ अर्को ठगी अभियोगमा रिहा भएकै दिन पक्राउ परेका थिए । सहकारी ठगी प्रकरणमा पूर्व अध्यक्ष कृष्णबहादुर राउत १२ लाख धरौटीमा रिहा भएका छन् । लेखा समिति संयोजक सूर्यबहादुर अधिकारीसहित विष्णुप्रसाद भण्डारी, सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी सातरसात लाख रुपैयाँ धरौटीमा रिहा भएकोमा कानूनी सल्लाहकार अधिवक्ता जनकल्याण पराजुली तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । सहकारी घोटलामा जोडिएका अझै १९ जना फरार छन् ।