रुफ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन कम्पनीको नक्कली लेटरप्याड प्रयोग गरी प्रबन्धको नक्कली हस्ताक्षर प्रयोग गरी उक्त कम्पनीको अधिकारप्राप्त व्यक्ति इन्जिनियर रमेशकुमार चौधरी बनेका थिए । त्यसपछि विद्यालयको पर्खाल लगाउने काम सकिएपछि भुक्तानी गर्ने क्रममा २ लाख ७५ हजार रुपैयाँ घुस लेनदेन गरेको अख्तियारको आरोप छ ।
विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरी २ लाख ७५ हजार रुपैयाँ राज्यकोशको दुरुपयोग गरेको आरोपमा अख्तियारले सावनकुमारसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जिल्ला धनुषा, शहिदनगर नगरपालिकाको इन्जिनियर भन्ने रमेश कुमार चौधरीले बिद्यालयको बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज रमेश कुमार चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र रु.१,७५,०००।–(एक लाख पचहत्तर हजार रुपैयाँ) को चेकसहित नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीले रुफ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन कम्पनीसँग आ.व 2079/080 को सम्पूर्ण योजनाहरुको लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदन/नापी किताब लगायत योजनाको भुक्तानी सम्बन्धी कागजातहरु तयार गर्न सम्झौता गरी/गराई उक्त सम्झौता कार्यान्वयन नगरी निज प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र इन्जिनियर रमेश प्रसाद चौधरीसमेतको आपसी मिलोमतोमा उक्त रुफ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन कम्पनीको नक्कली लेटरप्याड तयार गराई प्रवन्धकको नक्कली Scan Signature प्रयोग गरी कम्पनीको तर्फबाट सम्झौता बमोजिमको कामकाज गर्ने गरी प्रतिवादी रमेश प्रसाद चौधरीलाई Power of Attorney दिएको देखिने नक्कली/गलत लिखत तयार गरी/गराई शहिदनगर नगरपालिकामा पेश गरी उक्त नक्कली Power of Attorney मा सक्कल दस्तखत गरी कार्यालयमा अभिलेख राखी राख्न लगाई सोको आधारमा निज रमेश प्रसाद चौधरीलाई कर्मचारीको रुपमा कामकाज गर्ने गरी नियुक्ति दिई/लिई निजहरु सावन कुमार चौधरी र रमेश प्रसाद चौधरीसमेतले घुस/रिसवत लगायतको लाभ प्राप्त गर्ने बदनियतले योजनाहरुको प्राविधिक प्रतिवेदन लगायत कागजात पेश गरे/गराएकोमा सोही योजनामध्ये बिद्यालयको बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न भएपश्चात प्राविधिक प्रतिवेदन लगायतको कार्य सम्पन्न गरी/गराई रकम भुक्तानी गर्न गराउनको लागि सेवाग्राहीसँग निजहरु सावन कुमार चौधरी, रमेश प्रसाद चौधरी र गुरुदेव यादवसमेतको मिलोमतोमा घुस/रिसवत माग गरी रु.1,00,000।– नगद र रु.१,७५,०००|- को चेकसहित जम्मा रु.2,75,000।–(दुई लाख पचहत्तर हजार रुपैयाँ) सेवाग्राहीबाट रमेश प्रसाद चौधरी र गुरुदेव यादवले लिएको पुष्टि भएकोबाट घुस/रिसवत लेनदेनमा निज सावन कुमार चौधरीले मुख्य कसुरदार भई गरेको कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (1) बमोजिमको कसुर अपराध भएको साथै ऐ.ऐनको दफा ९ बमोजिमको कसुर समेत भएको हुँदा निज सावन कुमार चौधरीलाई बिगो रु.2,75,000।–(दुई लाख पचहत्तर हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन साथै सोही ऐनको दफा 9 बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिइएको छ।
प्रतिवादी रमेश प्रसाद चौधरीले बिद्यालयको बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न भएपश्चात प्राविधिक प्रतिवेदन लगाएतको कार्य सम्पन्न गरी/गराई रकम भुक्तानी गर्नको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.1,00,000।– नगद र रु.१,७५,०००|- को चेकसहित जम्मा रु.2,75,000।– लिएको पुष्टि भएबाट निज रमेश प्रसाद चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (2) को कसुर गरेको साथै ऐ.ऐनको दफा 9 बमोजिम गलत लिखत तयार गर्ने कसुरको लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसुर गरेको हुँदा निज रमेश प्रसाद चौधरीलाई बिगो रु.2,75,000।–(दुई लाख पचहत्तर हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा 3 को उपदफा (2) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन एवं सोही ऐनको दफा 9 बमोजिम मुख्य कसुरदारलाई हुने कैद र जरिवाना सजायलाई आधारमानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाक्याश बमोजिम सजाय हुन मागदावी लिइएको छ।
प्रतिवादी गुरुदेव यादवले जिल्ला धनुषा, शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र रमेश प्रसाद चौधरीसँगको मिलोमतोमा बिद्यालयको बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न गरी भुक्तानी गर्ने कार्यमा सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.100,000।– नगद र निजको नाममा काटिएको चेक रु.१,७५,०००|- सहित जम्मा रु.2,75,000।– लिई सँग साथमा राख्ने कार्य गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (2) बमोजिमको कसुर अपराध भएको हुँदा निज गुरुदेव यादवलाई बिगो रु.2,75,000।–(दुई लाख पचहत्तर हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा 3 को उपदफा (2) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा 3 को उपदफा (1) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।