चन्द्रागिरि नगरपालिका वडा नं. २ का वडा अध्यक्ष भाई कृष्ण तामाङ्ग पक्राउ

-


     सुचनाको हक     
     असार २१ गते २०८१ मा प्रकाशित


जिल्ला काठमाडौं, चन्द्रागिरि नगरपालिका वडा नं. २ बस्ने धुर्व बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले विचौलिया धुर्व बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु. २,००,०००।– (दुई लाख) को चेक थान-१ (एक) गरी जम्मा रु.४,००,०००।–(चार लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा चन्द्रागिरि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङ्ग र चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने धुर्व बहादुर कडायतसमेतको मिलेमतोमा सेवाग्राहीको व्यवसाय संचालन गर्ने प्रक्रियाको लागि व्यवसाय दर्ता, विद्युत लाइन जडान र ठाउँसारीको लागि सर्जमिन मुचुल्कासमेतको सिफारिस गर्ने कार्यमा वडाध्यक्ष भाई कृष्ण तामाङ्गले बिभिन्न बहाना बनाई प्रतिवादी धुर्व बहादुर कडायत मार्फत नगद रु.२,००,०००।– (दुई लाख रुपैयाँ) र रु.२,००,०००।– (दुई लाख) को चेक गरी जम्मा रु.४,००,०००।–(चार लाख रुपैयाँ) घुस/रिसवत लिन लगाई प्रतिवादी धुर्व बहादुर कडायतले उक्त घुस/रिसवत वापतको रकम लिएको पुष्टि भएको हुँदा निज वडाध्यक्ष भाई कृष्ण तामाङ्गलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.४,०0,000/- (चार लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।

साथै, प्रतिवादी धुर्व बहादुर कडायतले वडाध्यक्ष भाई कृष्ण तामाङ्गसँगको मिलोमतो तथा निर्देशानुसार सेवाग्राहीबाट रु.4,0०,000।– घुस/रिसवत लिएको पुष्टि भएको हुँदा निज धुर्व बहादुर कडायतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (2) बमोजिमको कसुरमा बिगो रू.४,०0,000/- (चार लाख रुपैयाँ) कायम गरी सोही दफा 3 को उपदफा (2) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।