संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो ।
प्रस्तावित न्यायाधीश नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा १० दिनभित्र सूचना वा उजुरी दर्ता गराइसक्नुपर्नेछ ।
उजुरी समितिको सचिवालयमा वा सिधै इमेल [email protected] मा र जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ ।
उजुरी दिने व्यक्तिले नाम, थर, ठेगाना र फोन नम्बर उल्लेख गर्नुपर्नेछ । चाहेको खण्डमा समितिले परिचय गोप्य राख्नेछ ।
निरौला र पाण्डेय गत शुक्रबार (११ असोज)मा न्याय परिषदबाट सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए ।
निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् । निरौला सर्वोच्च अदालतका तेस्रा मुख्य रजिष्ट्रार हुन् । उनी मुख्य रजिष्ट्रारबाटै मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।
पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश हुन् । उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।