शक्ति केन्द्र र पैसाको आडमा व्यवसायीहरूले सरकारी कर्मचारीसँग‘ सेटिङ’ मिलाएर करोडौं रूपैयाँको सामान न्यूनभन्सार मूल्यांकन गरी राजस्व छली गर्दै आएको पाइएको छ । व्यवसायीहरूले अर्थमन्त्रालयमातहत रहने सरकारी कार्यालयका उच्चपदस्थ अधिकारीकै योजनामा कर्मचारी खटाएर अवैध धन्दा गर्दै आएका व्यवसायीलाई साथ दिएको पाइएको छ ।
मासिक रूपमा करोडौँरूपैयाँ राजस्व छली भइरहँदासमेत कसैमाथि कारबाही भएको छैन । पछिल्लो समयमा भन्सारका कर्मचारी र व्यापारीको सेटिङमा नेपालमा भित्र्याउँदै आएको नयाँ तथा पुरानो मोडलको गाडी आयातमा अत्यधिककर छली तथा न्यून मूल्यांकन हुने गरेको पाइएको छ । व्यवसायीहरूले अवैधरूपमा हलुका सवारीसधान कमभन्दा कम भन्सार बुझाएर नेपाल ल्याउने क्रमबढेको छ ।
भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ । सेटिङ मिलाउने गाडी आयातकर्तासँग कर्मचारीले हचुवाको भरमा न्यून विजकीकरण गरी गाडी छुटाउँदै आएको स्रोतको भनाइ छ । भैरहवा, विराटनगर,झापाका व्यापारीले सेटिङ मिलाएर सामान नेपाल भित्र्याउने गरेका छन् । टेस्ला मोटरको आयातमा झन् बढी राजस्व र कर छली गरेको भेटिएको छ । उक्त सवारीसाधन विद्यमान ऐनविपरीत अन्तःशुल्कसमेत नतिरी ल्याइएको पाइएको छ ।नेपालमा ‘श्रीमा डिस्ट्रिब्युटर्स’ नामक कम्पनीले उक्त विलासी गाडी भित्र्याउँदै आएको छ ।
मोडल एक्स तथा एरेट इन्टरनेसनलले ल्याएका कारहरू सरकारले तोकेको मापदण्डविपरीत कम क्षमता अंकित गरेर ल्याइएकाले सरकारलाई तिर्ने भन्सार र अन्तःशुल्कमासमेत व्यापक छली गरेको पाइएको छ । टेस्ला मोटर आयातकर्ताले यो सबै आरोप झुठो भएको दाबी गर्दैै आएका छन् । तर, उसले भन्सारमा बुझाएको मूल्यसूचीको कागजात उपलब्ध गराउन सकेका छैन । टेस्ला मोटरमाथि २११ किलोवाट बराबरको नभएर केवल १४७ किलोवाट बराबरको अन्तःशुल्क तिरेको आरोप लागेको छ ।
यस विषयमा आयातकर्ताले सो गाडीको एउटै मोडलमा धेरै थरिको मोटर जडान भएर आउने र आफूले ल्याएको मोटरको क्षमता सरकारले जाँचेरै भन्सार तिराएको भए सो अवैधधन्दा अहिले नियन्त्रणमा आउने थियो । गाडी आयात गर्दा अन्तःशुल्कबाहेक आयात कर ४० प्रतिशत, सडक मर्मत तथा सम्भार कर पाँच प्रतिशत, भ्याट १३ प्रतिशत पनि तिर्नुपर्ने व्यवस्था रहेको छ ।
सरकारलाई तिर्नुपर्ने तोकिएको सबै राजस्व बुझाउँदा कम्पनीले नै गरेको मूल्यांकनअनुसार एउटा गाडीका लागि जम्मा राजस्व ८५ लाख ६१ हजार ५९६ रूपैयाँ तिर्नुपर्ने हुन्छ । तर, यो गाडी आयात गर्दा अहिले जम्मा राजस्व ५६ लाख ६७ हजार ७७९ रूपैयाँमात्र तिरेको देखिएको छ ।
एउटा टेस्ला गाडी आयात गर्दा सरकारलाई २८ लाख ९३ हजार ८१७रूपैयाँ राजस्व छली गरेको पाइएको छ । मोडल ३ गाडीको मूल्य अन्तर्राष्ट्रिय बजारमाभन्दा नेपालमा सस्तो भएको दाबीसमेत व्यवसायीहरूले गरेका छन् । कम्पनीले नेपालमा ल्याउँदा गाडीको मूल्यांकन ३५ हजार ८०० अमेरिकी डलर घोषणा गरेको छ । तर, अन्तर्राष्ट्रिय बजारमै यसको मूल्य ३९ हजार १९० अमेरिकी डलर राखिएको छ ।
बजारमा राखिएको मूल्य र कम्पनीलाई बिक्रेताले तिर्ने मूल्यमा ठूलो अन्तर देखिएको छ । भन्सार विभागका अनुसार टेस्लाले मोटर पावर क्षमता वास्तविकभन्दा कम देखाएर भित्र्याएको विषयमा खासै चासो देखाएको छैन । विभाग स्रोतले भन्यो,‘हाम्रो मूल्यांकन शाखाले फलोअप गर्ने हो, यसको विषयमा हामी फलोअपमा छौं, अन्य कुरा अहिले भन्न मिल्दैन ।’
यसबाट पनि के शंका गर्न सकिन्छ भने उक्त गाडी आयातमा ‘सेटिङ’बाटै सामान्य छानबिन गरेर उन्मुक्ति दिने तयारी सरकारी निकायबाट भइरहेको स्रोतको दाबी छ ।सरकारलाई २८ लाख ९३ हजार ८१७रूपैयाँकर छली गरेको उक्त कम्पनीले आयात गरेको टेस्ला गाडी स्ट्याण्डर्ड रेञ्ज आरडब्ल्युडी मोटरबाट पावर दिएर चल्ने गाडी रहेको छ ।
उनीहरूले उक्त गाडीको एचएसकोड ८७३८०६९ हुनुपर्नेमा ८७०३८०४९ उल्लेख गरेर १५ प्रतिशतमात्र एक्साइज ड्युटी भुक्तानी गरेको देखिएको छ । सरकारलाई १४७ किलोवाट उल्लेख गरी प्रस्तुत गरिएको कागजातको आधारमा १५ प्रतिशतमात्र अतिरिक्त कर निर्धारण गरिएको छ । जबकि, उक्त गाडीको अतिरिक्त कर नै ६० प्रतिशत निर्धारण हुनुपर्ने थियो तर, १५ प्रतिशत अतिरिक्त तालिका अनुसार सम्पूर्ण सञ्चयी कर ९१ प्रतिशत हुन जान्छ ।
जबकि, ६० प्रतिशत एक्साइज टेबलअनुसार सम्पूर्ण सञ्चयी कर १६५ दशमलव ७७ प्रतिशत लागू हुने देखिन्छ । एक्साइज ड्युटीमा २४ लाख ३८ हजार कर छली बचत गरी बाँकी लागू हुने कर थप्दा एउटा गाडीमा २९ लाख करछली गरेको प्रस्ट हुन आएको छ ।अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाको कार अवैधरूपमा नेपालमा आयात गरेको राकेश अडुकियाको कम्पनीले थप कार आयात गर्दा ‘अन्डर इनभोइस’ गरेको थियो ।
अडुकियाको कम्पनी श्रीमा डिस्ट्रिब्युटर्सले यसअघि अवैधरूपमा आयात गरेका कारलाई सर्वोच्चले वैधता दिएको थियो। उनै अडुकियाको अर्को कम्पनी अरेटी इन्टरनेसनलले किनेर नेपाल ल्याएको कारको खरिद मूल्य कम देखाएको र मोटर क्षमता नै ढाँटेर सबै कर कम तिरेको थियो ।
श्रीमाले यसअघि ल्याएका टेस्लाका दुई वटा कारको दर्ता खारेज गर्ने यातायात व्यवस्था कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि गाडीको दर्ता ब्युँतिएको थियो । श्रीमा विवादित भएपछि अडुकियाले अर्को कम्पनी अरेटी इन्टरनेसनलमार्फत् नोभेम्बर ६ मा हङकङको साउथ चाइना एक्जिम कम्पनीबाट ३ वटा टेस्ला मोडल–थ्री गाडी नेपाल भित्र्याएका थियो ।
चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री अरेटीले नेपाल ल्याउँदा ३५ हजार डलरमा खरिद गरेको देखाएको छ। उक्त बिलअनुसार यो गाडी ‘अन्डर इन्भोइस’मा आएको प्रस्ट भएको छ। गाडीको मोटर क्षमता ढाँटेपछि कम्पनीले १५ प्रतिशतमात्रै अन्तःशुल्क तिरेर तीन वटा कार भन्सार जाँचपास गराएको छ।
कम्पनीले गाडीको भन्सार मूल्य ४१ लाख ६० हजार ४५० रूपैयाँ देखाएको छ भने भन्सार शुल्कबापत १६ लाख ६४ हजार रूपैयाँ तिरिएको छ। सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको आर्थिक ऐनमा विद्युतीय कारको भन्सार तथा अन्तःशुल्क वृद्धि गरेपछि टेस्लाको अवैध आयात गरेको श्रीमा सर्वोच्च अदालत पुगेको थियो।
सर्वोच्चले गाडी सुरक्षित राख्न दिएको आदेशको दुरूपयोग गर्दै श्रीमाले ‘रोड वर्दिनेस टेस्ट’ नै नगरी कार दर्ता गरेको थियो। कानुनविपरीत कार दर्ता भएको अवैध आयातलाई सर्वोच्चले वैधता दिँदा राकेश अडुकिया समूह कर छलीमै लागि रहेको पाइएको छ ।
अवैध रूपमा टेस्लाका गाडी आयात गरेको श्रीमा डिस्ट्रिब्युटर्स नेपाल प्रालि सोझै यातायात व्यवस्था कार्यालय सानारठूला सवारी कार्यालयमा पुगी दर्ता गराएको भेटिएको छ । श्रीमा डिस्ट्रिब्युटर्सले गाडी नै अवैध रूपमा आयात गरेकाले अवैध काम गर्न पछि परेको देखिँदैन।सो कम्पनीले टेस्लाका कार बागमती प्रदेश–०१–०२३ च–५६५६ र बागमती प्रदेश–०१–०२३ च–५६८८ नम्बरका कार दर्ता गरेको भेटिएको छ ।
श्रीमा डिष्ट्रिब्युटर्सले भन्सारले साविकबमोजिमकै कर तिरेका आधारमा गाडी छुटाउन पाउनुपर्ने मागदाबी गर्दै रिट दायर गरेको थियो । वीरगञ्ज भन्सार कार्यालयले जाँचपास गर्दै छुटाएका ती गाडी विद्यमान कानुनविपरीत रहेको छ । टेस्लाकै इलेक्ट्रिक कार नेपालमा श्रीमाका साथै अर्को कम्पनी ग्यालेक्सी अटोमोटिभ्स प्रालिले समेत आयात गरेको थियो ।