जीवन एक यात्रा हो यो सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ ।
दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई आत्मसाथ गर्न सकिन्छ । हामि जीवन को येस्ता बास्तबिकता बुझ्न नसकेर तनाब मा रहेका हुन्छौ । जन्म, प्रेम र मृत्यु मात्र होइन धेरै कुरा हरु हाम्रो बश मा हुदैनन ।
गल्ती महसुस गर्ने, तनाव नलिने
गल्ती कसले गर्दैन र जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।
अर्काको नजरबाट आफूलाई नहेर्ने
धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो यो । अरुले ‘राम्रो भन्दा मख्ख पर्ने र ‘नराम्रो भनेपछि खिस्रिक्क हुने प्रायः को बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् ।
अरुको नजरमा आफूलाई सही नदेखेकै अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया अनुसार आफूलाई मूल्यांकन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ ।
परिवर्तनसँग नडराउने
मान्छे ठीकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्ये परेका छन् । सफलताको माथिल्लो सिँढीमा उनीहरु नै पुगेका छन् ।
मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर, समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पु¥याउँछ । परिवर्तनसँग डराउने होइन, डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ ।
एक्लोपन महसुस नगर्ने
धेरै मान्छे अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ ।
गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुसीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताको कारक बन्न सक्छ । त्यसरी रहँदा नयाँ सोच आउने सम्भावना धेरै हुन्छ ।
अर्काको सफलतामा रमाउने
सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ ।
आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन । अर्काको सफलतामा समेत रमाउने स्वभावको विकास गर्दा आफ्नो सफलताका लागि सोच्ने शक्तिको विकास हुन्छ ।
अरुसँग तुलना नगर्ने
आफ्नो तुलना अर्को कोहीसँग गर्नुहुँदैन । किनकि जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।
अरुसँग तुलना गर्दा कि त आफू कमजोर भएको महसुुस हुन्छ, कि त बलियो । दुइटै दिमागलाई नयाँ तरिकाले उपयोग गर्ने प्रक्रियाका बाधक हुन् । आफूसँग भएको कुरालाई उच्चतम प्रयोगका लागि सोच्ने बानीका कारण दिमाग सदा विकल्प ठम्याउनेतिर अघि बढ्छ ।
स्वउत्प्रेरण कसरी जगाउने ?
सफल मानिसको जीवनी पढेर पनि हामी आफूले आफूलाई प्रेरित गर्न सकिरहेका हुन्छौं ।
एउटा अध्ययनले के देखाउँछ भने धेरै मानिस जीवनको २५ देखि ३० वर्ष कटेपछि फेरि जीवनमा कहिल्यै असफल हुँदैनन्, किनभने जीवनको त्यो समयसम्म उनीहरूले यति धेरै असफलता बेहोरिसकेका हुन्छन् कि लाग्छ जीवनमा कहिले पनि सफल हुन सकिंदैन । उनीहरूले स्वीकार गरिसकेका हुन्छन्— अब यही नै जिन्दगी हो र फेरि पनि प्रयास गर्नु बेकार छ ।
सफलताका लागि प्रयास नगर्नु नै सबैभन्दा राम्रो तरिका हो— असफलताबाट बच्नु । त्यसैले त्यस्ता मानिसहरू फेरि जीवनमा कहिल्यै असफल हुँदैनन् । यी तिनै मानिसहरू हुन्, जसको सफलताको स्रोत वा ऊर्जा बाहिरी तत्वमा निर्भर छ । जस्तै— धन, वर्चस्व, पहिचान तथा विभिन्न भौतिक वस्तुहरू ।
मानिसले चाहेजस्तो सफलता प्राप्त गर्न बाहिरभन्दा पनि आफूभित्र हेर्न सक्ने खुबीको विकास गर्न सक्नुपर्छ । जब मानिसले आफूलाई चिन्न सक्छ र त्यो ऊर्जालाई जगाइरहन सक्छ, उसको लागि कुनै पनि चिज असम्भव हुँदैन । हरेक बाहिरी चिज स्फूर्त ढंगले प्राप्त हुन थाल्छ । तर, केवल बाहिरी उत्प्रेरणाको मात्रै पछि लाग्दा त्यो प्राप्त नहुन पनि सक्छ ।
सफल मानिसहरूको जीवन हेर्ने हो भने पनि यो अनुभव गर्न सकिन्छ । गान्धी र लिङ्कन इतिहासका दुई ठूला पात्र हुन्, जसले पैसालाई आफ्नो जीवनमा कहिले पनि महत्व दिएनन् । तर अचम्म, उनीहरूकै फोटो पैसामा आयो । त्यसैले जब मानिसले आफ्नो मूल लक्ष्य प्राप्त गर्छ, अरू सबै बाहिरी चिज आफैं मानिसको जीवनमा आउन सुरु गर्छ । मान्छे कसरी स्वउत्प्रेरित भइरहन सक्छ त त्यसो हो भने ?
लक्ष्य निर्धारण
हार्वर्ड विश्वविद्यालयको एउटा अध्ययनले देखाउँछ कि ३ प्रतिशत मानिसले मात्रै आफ्नो जीवनमा लक्ष्य निर्धारण गरेका हुन्छन् । त्यसलाई लेखेका हुन्छन् । लक्ष्य निर्माण जीवनलाई चिन्ने र आफ्नो जीवनको सही उद्देश्य बनाउन मद्दत गर्ने साधन हो । तपार्इंको लक्ष्य तपाईंको जीवनको सबैभन्दा ठूलो स्वउत्प्रेरण हो । यसले तपाईंलाई जीवनमा आइपर्ने ठूलो चुनौतीसँग लड्ने क्षमता विकास गरिदिन्छ ।
लड्दा एकचोटि फेरि उठेर प्रयास गर्ने हिम्मत दिन्छ । सफलता प्राप्त हुँदा त्यसलाई अझै मानिसहरू तथा समाजको भलाइका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने र सोच्न सक्ने विवेक प्रदान गर्छ । त्यसैले आफ्नो जीवनको लक्ष्य निर्धारण गर्नुहोस् ।
पूर्वीय समाजमा मानिसको भाग्य विधिले लेखिदिएको हुन्छ भन्ने कुरा मान्ने चलन छ । यही पश्चिमाहरू आफ्नो भाग्य आफैंले निर्धारण गर्नुपर्छ र मेहनत गरे जे पनि प्राप्त गर्न सक्न्छि भन्ने सिद्धान्तका साथ अघि बढे ।
आज विकासको संरचना हेर्दा हामी उनीहरूभन्दा पचासौं वर्ष पछि परेजस्तो देखिन्छ, जबकि पश्चिमा देशहरूको उत्पत्तिको इतिहास पनि हाम्रो जति पुरानो छैन । लक्ष्य निर्धारण गर्ने भनेको आफ्नो भाग्य लेख्नुजस्तै हो । मेहनत, विश्वास र लगनशीलताले कुनै पनि लक्ष्य प्राप्त गर्न सकिन्छ ।
आफूसँग सकारात्मक कुरा गर्नुहोस्
मानिसको सबैभन्दा ठूलो मित्र वा शत्रु ऊ आफै नै हो । हामी सबैभन्दा बढी आफैंसँग कुरा गर्छाै । त्यसैले तपाईं आफूसँग के कुरा गर्नुहुन्छ, त्यो अत्यन्तै महत्वपूर्ण हुन्छ । जब मानिस आफूसँग सकारात्मक कुरा गर्छ, ऊ ऊर्जावान् हुन्छ ।
जब मानिस हुँदैन, सकिंदैन, गाह्रो छ, म गर्न सक्दिनँ जस्ता नकारात्मक कुरा गर्छ तब ऊ निराश हुन्छ र जीवनको प्रेरणा पनि हराउन थाल्छ । त्यसैले जब तपाईं लक्ष्य निर्धारण गरी त्यसलाई प्राप्त गर्नका लागि काम गर्न सुरु गर्नुहुन्छ, कहिले पनि आफुसँग नकारात्मक कुरा नगर्नुहोस् । कुरा जति बढी दोहरिरहन्छ, त्यति नै त्यो शक्तिशाली बन्दै जान्छ ।
सकारात्मक कुरा जब शक्तिशाली हुन्छ, तब त्यो विश्वास बन्छ । जसले तपाईंलाई तपाईंको लक्ष्यको नजिक पुग्न मद्दत गर्छ । नकारात्मकताले तपाईंलाई लक्ष्यबाट टाढा पु¥याउने गर्छ ।
अध्ययन
जब तपाईं आफ्नो लक्ष्यसँग सम्बन्धित कुरा अध्ययन गर्न थाल्नुहुन्छ, त्यो अध्ययन पनि स्वउत्प्रेरणको माध्यम बन्दछ । त्यो अध्ययन तपाईंजस्तै लक्ष्य बोकेर सफल भएका मानिसको बारेमा हुन सक्छ तथा विभिन्न पुस्तकहरू, जुन अध्ययन गर्नाले तपाईंको लक्ष्य प्राप्तिको लागि सहयोग हुन सक्छ ।
बढीजसो आफ्नो समय यस्तो अध्ययनमा लगाउनुहोस्, न कि कसैको नकारात्मक टीका–टिप्पणीमा । यस्तो अध्ययनले तपाईंलाई विभिन्न किसिमको परिस्थितिमा कसरी आफूलाई अगाडि लिएर जान सकिन्छ, त्यसको ज्ञान प्राप्त हुन सक्छ ।
भनिन्छ नि, कि त मान्छेले परेर जान्दछ, कि त पढेर । त्यसैले सफल मानिसको जीवनी पढेर पनि हामी आफूले आफूलाई प्रेरित गर्न सकिरहेका हुन्छौं ।
सकारात्मक मानिस तथा सफल मानिसहरूसँग समय बिताउँदा पनि उनीहरूको विचारले हाम्रो विचारलाई प्रभावित गरिरहेको हुन्छ, तर यो सुखद हुन्छ
सकारात्मक तथा सफल मानिसको वरपर बस्नुहोस्
भनाइ नै छ, संगत गुणको फल । असफल तथा निराश मानिसको साथमा धेरै समय बिताउँदा हाम्रो भित्री विचार पनि उनीहरूको विचारले प्रभावित भइरहेको हुन्छ । यो अत्यन्तै जोखिमयुक्त समय हुन सक्छ । हामी पनि त्यो हूलको मानिसजस्तै हुन सकिने सम्भावना बढी हुन्छ । त्योभन्दा बरु एक्लै बस्नु र आफ्नो काम गर्दै जानुमै राम्रो हुन्छ ।
कमसे कम तपाईंले आफ्नो बारेमा सोच्ने समय त पाउनुहुन्छ । सकारात्मक मानिस तथा सफल मानिसहरूसँग समय बिताउँदा पनि उनीहरूको विचारले हाम्रो विचारलाई प्रभावित गरिरहेको हुन्छ, तर यो सुखद हुन्छ । यी विचारहरू शक्तिशाली हुन्छन् । यी विचारले हामीलाई प्रेरित गर्छन् । जीवनमा अघि बढ्न हौसला र हिम्मत दिन्छन् । हामी पनि बिस्तारै उनीहरूजस्तै बन्दै गइरहेका हुन्छौ ।
माथि लेखिएका सम्पूर्ण तरिकाको प्रयोगले कोही पनि मानिसले आफ्नो स्वउत्प्रेरण जगाएर राख्न सक्छ । त्यसो हुँदा व्यक्ति स्वयंले जीवनमा केही प्राप्त गरेको अनुभव गर्न सक्छ । मानिस हरसमय ऊर्जाले भरिएको महसुस गर्छ । लक्ष्य निर्माण गर्नु र त्यसलाई प्राप्त गर्न संघर्ष गर्दा मानिसले आफूले आफूलाई पनि नजिकबाट चिन्ने मौका प्राप्त गर्छ । जीवनको सबैभन्दा ठूलो सार्थकता पनि यही नै हो ।