बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति नेपालमा पाइन्छ । त्यसबाट १ हजार ५ सय प्रकारका सामान उत्पादन हुँदै आएको छ । ती सामानको खपत स्वदेशमा त भइरहेको छ नै, विदेशसमेत निर्यात हुने गरेको छ ।
भन्सार विभागका अनुसार नेपाली बाँसका उत्पादन चालू आवको चार महिनामा भारत, अमेरिका, जापान, अस्टे«लियालगायत मुलुकसम्म पुगेका छन् । साउनदेखि कात्तिकसम्मको अवधिमा मात्रै ३ करोड रुपैयाँका बाँसका फर्निचर भारत निर्यात भएको तथ्यांक छ । चीनमा ५५ लाख ५० हजार, अमेरिकामा १७ लाखको निर्यात भएको छ । त्यस्तै थोरै मात्रामा इटली, अस्ट्रेलियालगायत मुलुकमा पनि पुगेको देखिन्छ । यो संख्या भने हजारमा सीमित छ ।
यस्तै, तामाको अचार र शुद्ध तामा पनि निर्यात हुन थालेको छ । नेपालले समीक्षा अवधिमा २० हजार ६ सय ६२ किलो तामाको अचार र तामा निर्यात गरेको छ । अस्ट्रेलियामा ३७ लाख ४७ हजार, जर्मनीमा ६९ हजार, भारतमा ७ लाख २८ हजार, बेलायतमा ६ लाख १९ हजार र अमेरिकामा ९ लाख ५१ हजार रुपैयाँको अचार र तामा निर्यात भएको विभागको तथ्यांक छ ।
नेपालमा कति बाँस उत्पादन भइरहेको छ र स्थानीय बजारमा कति खपत भइरहेको छ भन्ने यकिन तथ्यांक भने सरकारी निकायसँग छैन । आवश्यकता र सौखका रूपमा पनि बाँसका सामग्रीको प्रयोग बढ्दै गएको छ । पूर्ववातावरणमन्त्री गणेश साह बाँसको खेती हुने क्षेत्र विस्तार, बजारीकरण र सामग्री तयारका लागि प्रशिक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । भन्छन्, ‘गरिबका लागि बाँस जीवन निर्वाह गर्ने माध्यम र धनीका सजावटका साधन बनाउने माध्यम बनेको छ । यसलाई थप विस्तार गर्न सीप विकास र खेतीमा जोड दिन आवश्यक छ ।’
बाँसबाट परम्परागत रूपमा डोको, डालो, नाङलो बनाइँदै आएको छ । पछिल्लो समय फर्निचरका रूपमा पनि प्रयोग व्यापक गर्न थालिएको छ । फोटो फ्रेमका रूपमा पनि प्रयोग भइरहेको छ । रेस्टुरेन्ट, होमस्टे तथा होटलमा पनि स्थानीय बाँसबाट बनेका सामग्री प्रयोग गरिन थालेको छ । यति मात्रै होइन, तामाको आचार र तरकारी पनि नेपाली भान्साको लोकप्रिय परिकार हो । यसको प्रवद्र्धनमा लागेकाहरूले भन्न थालेका छन्, ‘बाँसबाट नबन्ने चिज कमै छ ।’
धेरै चिज बनाउन सकिने भएकाले बाँसको व्यवसायीकरण गर्न सक्ने सम्भावना रहेको जानकारहरूको दाबी छ । नेपाली उत्पादनको माग पनि स्थानीयसँगै विश्वबजारमा पनि बढ्दै गएको ग्रिन बेम्बो क्रिएसन प्रालिका प्रबन्ध निर्देशक प्रणव प्रधान बताउँछन् । ‘बाँसको सामग्री बनाउन वा बाँसको व्यवसाय गर्नका लागि निजीसँगै सरकारी निकायबाट लगानी हुनुपर्छ’, उनी भन्छन्,, ‘बाँसको प्रयोग बढाउन बजारीकरणको आवश्यक छ । यसमा पालिकास्तरका निकायको पनि महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’
नेपाली उत्पादनको ‘ब्रान्ड’ बनाएर निर्यात गर्न सके यसबाट थप फाइदा लिन सकिने उनको भनाइ छ । उनका अनुसार बाँसको सामग्रीको बजारीकरणमा मात्रै नभई उत्पादनमा पनि पालिका, प्रदेश र केन्द्र सरकारले भूमिका निर्वाह गर्नुपर्छ ।
- वातावरणमा पनि उपयोगी
बाँसको उपयोग आयआर्जनसँग मात्रै जोडिएको छैन । यो सामाजिक परम्परा, वायुमण्डल र वातावरणसँग पनि उत्तिकै महत्त्वका साथ जोडिएको छ । वायुमण्डलमा रहेको कार्बन शोषण गर्न तथा विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तनको असरलार्ई न्यूनीकरण गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विज्ञको भनाइ छ ।
यही कारण बाँसकेन्द्रित राष्ट्रिय नीति–निर्माण, योजना तथा कार्यक्रम सञ्चालन एवं सीप र प्रविधि विकासको अभिवृद्धिलगायत विषयमा जोड दिनुपर्ने बताउँछन्, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसी । ‘बाँसको आर्थिक मात्रै होइन, वातावरणीय हिसाबले उत्तिकै महत्त्व छ’, उनी भन्छन् ।
उनका अनुसार विश्वमा नेपाली बाँस ‘हिमालयन बेम्बो’ नामले प्रख्यात छ । भन्छन्, ‘यसैलाई जोडेर हिमालयन ट्रेडको नामले विश्व बजारमा बाँसको मार्केटिङ गर्न सकिन्छ ।’ बाँसको मार्केटिङका लागि स्थानीय पालिकादेखि केन्द्र सरकारले भूमिका खेल्नुपर्ने सुझाव उनी राख्छन् ।
नेपालमा पाइने प्रजातिमध्ये ३८ रैथाने र ३७ आयातित रहेको सरोकारवालाको दाबी छ । यी प्रजातिबाट १ हजार ५ सयभन्दा बढी प्रकारका सामग्री तयार गर्न सकिने डा. केसीको भनाइ छ । नेपालजस्तो पहाडी तथा संवेदनशील भूबनोट भएको देशमा भू तथा जलाधार संरक्षण, कम खर्चमा दिगो तथा भूकम्पमैत्री निर्माण, पर्यावरणीय शुद्धीकरण र व्यावसायिक वृद्धिलगायत दृष्टिकोणले बाँसको महत्त्व रहेको जानकार बताउँछन् ।
आर्थिक र वातावरणका साथै धर्म, संस्कृति, परम्परा घरेलु तथा साना उद्यमलगायत जनजीविकासँग पनि उत्तिकै जोडिएको देखिन्छ बाँस । यही कारण बहुउपयोगी बाँसको प्रचार, खेती विस्तार र प्रयोग बढाउन आवश्यक रहेको खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई बताउँछन् । आफ्नो कार्यकक्षमा बाँसबाट बनेको कुर्सी र टेबल प्रयोग गरेको उनको भनाइ छ ।
‘बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने योजना छ’, भट्टराई भन्छन्, ‘यसको व्यवसायीकरण गर्नकै लागि आगामी फागुन १५, १६ र १७ गते दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मलेन हुनेछ ।’
सम्मलेनले बाँसको आर्थिक सम्भावना, अवसर, चुनौतीको खोजी गर्ने उनी बताउँछन् । त्यस्तै बाँसबाट बनेका विविध वस्तुको प्रदर्शनी गरिनेछ । बाँसको प्रवद्र्धनका लागि सरोकारवालाको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा उपयोगिता बढाउने विषयमा छलफल पनि गर्ने कार्यक्रम छ । यसका साथै बाँसको अध्ययन तथा अनुसन्धानलाई बढावा दिने विषयमा छलफलको कार्यक्रम छ । आर्थिक उपार्जनका लागि बाँसलाई वैकल्पिक स्रोतका रूपमा विकास गर्ने विषयमा बहस चलाइने भएको छ । व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा सम्मेलनमा छलफल हुने भट्टराई बताउँछन् । यो समाचार रातोपाटिले प्रकाशन गरेको छ र हामीले त्यहि बाट साभार गरेका हौँ