भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३८ वर्षीय हेमराज शिवाकोटी र ३३ वर्षीया मुना सिलवाल छन् ।
हेमराज शिवाकोटीले आफूलाई ‘परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ’ भन्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान पुरा गरेर उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
पीडित कमानसिंह राईसँग दम्पतीले १५ लाख ७६ हजार रकम लिएर सम्पर्क विहीन भएका हुन् । २०७९ वैशाखमै रकम लिए पनि पूर्व गृहमन्त्री बालकृष्ण खाँण जोडिएको शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेपछि आरोपीहरूले ‘अहिले शरणार्थी प्रकरण चर्किएको छ चुपचाप बस्नुस्’ भनेर रकम पचाउन खोजेको पीडितले बताएका छन् ।