पौष २९ गते पक्राउ परेका सुपरभाइजर बिरुद्द आरोपपत्र तयार भइ मुद्दा दायर

-


     सुचनाको हक     
     फागुन २६ गते २०७८ मा प्रकाशित


नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव-स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीले नेपाल बिद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग रु. १,४०,०००।–घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सोमप्रसाद पहाडीलाई सेवाग्राहीबाट रु. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) लिइसकेको अवस्थामा मिति २०७८।०९।२९ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, काठमाडौं ग्रिड महाशाखा, पाटन, ललितपुर सव-स्टेशनका (प्रमुख) सुपरभाइजर सोमप्रसाद पहाडीले जिर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदा हुँदै पनि बिजुलीको पोल सार्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत रु.१,४०,०००।- माग गरी लिएको पुष्टि हुन आएकोले निज सोमप्रसाद पहाडीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.१,४०,०००।- (एक लाख चालीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ ।