१०० भन्दा बढीलाई ट्रयाल पास गराइदिने व्यक्ति पक्राउ परेकै दिन छुटे

-


     सुचनाको हक     
     चैत्र ६ गते २०७८ मा प्रकाशित


सवारी चालक अनुमतिपत्र(लाइन्सेस)को लिखित तथा प्रयोगात्मक(ट्रायल) परीक्षामा सहभागी भाडामा परीक्षार्थीलाई पक्राउ गरी मुद्दा नचलाई छाडिएको छ । यसमा यातायात कार्यालय र प्रहरीको भुमिका शंकास्पद देखिएको छ ।


यातायात व्यवस्था कार्यालय, ठूलो भ¥याङले आइतबार गुर्जुधारास्तित ट्रायल सेन्टरमा एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले झन्डै एक सय व्यक्तिको परीक्षा दिइसकेको बताए । तर, ती व्यक्तिलाई कारबाही नगरी छाडिएको छ ।
यातायात कार्यालयले नक्कली र सक्कली परीक्षार्थी दुवैलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा बुझाएको थियो । थानकोटले घटनाको अनुसन्धान नै नगरी आइतबार बेलुका नै दुवै जनालाई छाडिदिएको हो । कारबाहीका लागि यातायात कार्यालयबाट पत्र नआउँदा छाड्नुपरेको थानकोट वृत्तका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । ‘हामीले पत्राचार गर्न यातायात कार्यालयलाई भनेका थियौं,’ उनले भने,‘तर उताबाट पत्र आउँछ मात्र भन्नुभयो, तर पत्र नआएपछि मुद्दा चलाउने आधार नभएकाले छाडिएको हो ।’


यातायात व्यवस्था कार्यालय, ठूलो भ¥याङका प्रमुख संजय थापाले नक्कली परीक्षार्थीलाई त्यसरी विना कारबाही छाड्नु गलत भएको बताए । ‘विगतमा यसरी नक्कली परीक्षार्थी पक्राउ पर्दा पत्र लेख्न भनेर प्रहरीले खबर गर्थे’ उनले भने,‘तर, यसपटक प्रहरीबाट खबर नै आएन, यदी त्यतीकै छाडेको हो भने त्यो गलत भयो, यसले यस्ता गतिविधि गर्नेलाई प्रोत्साहन हुन्छ ।’ यातायात र प्रहरीबीच समन्वय नहुँदा यस्तो धन्दामा संलग्न गिरोह जोगिएको छ ।


ट्रायलको क्रममा नागरिकताको फोटो शंकास्पद लागेर सोध्दा ती व्यक्ति नक्कली भएको थाहा भएको थियो । ट्राफिक प्रहरी स्रोतका अनुसार परीक्षा दिने व्यक्ति मंगोलियन थिए । तर, परीक्षा दिने व्यक्ति र नागरिकताको फोटो नमिलेपछि शंका लागेर सोध्दा अवैध धन्दा खुलेको हो । पक्राउ परेका नक्कली परीक्षार्थी सरकारी कर्मचारी नै भएको बताइएको छ । पक्राउ परेका व्यक्तिले एउटा ट्रायल दिएवापत ५ हजार लिने गरेको सोधुपछुमा खुलेको थियो ।


यसरी नक्कली परीक्षार्थीमार्फत हुने सेटिङमा यातायात कर्मचारी र ट्राफिकको समेत मिलेमतोको आशंका गरिएको छ । यातायातमा वास्तविक परीक्षार्थी हो कि होइन भनेर ‘क्रसचेक’ गर्ने प्रणाली नै छैन । जबकी परीक्षार्थीको सुरुमै यातायातले बायोमेट्रिक लिइसकेको हुन्छ । लिखित तथा ट्रायल परीक्षामा त्यही बायोमेट्रिकबाट हाजिरी गराउन सकिए पनि यस्तो विकृती सहजै रोक्न सक्ने भएपनि यातायात कार्यालयले यसतर्फ ध्यान दिन सकेको छैन । जसकारण सवारी चलाउनै नजान्नेले अन्य व्यक्तिलाई परीक्षा दिन लगाएर सहजै लाइसेन्स बनाउने प्रवृत्ती देखिएको छ । विगतमा पनि पटक पटक नक्कली परीक्षार्थी पक्राउ परेपनि त्यस्तो गिरोहमाथि भने अनुसन्धान हुने गरेको छैन ।

यो घटनामा प्रहरी र यातायातका हाकिमले एकअर्कालाई दोषारोपण गरेर उम्कने प्रयास गरेका छन् । यातायातले तत्कालै पत्राचार गरेर मुद्दा चलाउन सक्ने भएपनि उसले त्यसतर्फ चासो नदिएकाले सो गिरोहको यातायातमा सेटिङ रहेको प्रष्ट हुन्छ ।