विदेशबाट फर्किएर ड्रागन फ्रुट खेती

-


     सुचनाको हक     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका हुन् । कोरियामा चार वर्ष बिताएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लागेका हुन् । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूलखेती सुरु गरेका छन् ।
उनले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोपेका छन् । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित छन् । । बिरुवा रहर लाग्दो रुप हुर्किएपछि उहाँलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।

विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर थापाले यो खेती सुरु गरेको बताउँछन् । सुरुमा चितवनबाट एक हजार ५०० बिरुवा ल्याएर खेती सुरु गरेको उनको भनाइ छ । नेपालमा व्यावसायिक रुपमा कृषि गर्न सके विदेश जान नपर्ने उनी बताउँछन् । “सुरुमा लहलैमा लागेर विदेश गएँ, वास्तवमा विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने हामीले राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भने, “गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीँ व्यवसायी बन्ने लक्ष्य छ ।”

थापाले विदेश जानुभन्दा अगाडि तीन वर्ष शिक्षण पेसा गरेका थिए भने सात वर्ष लघुवित्तमा समेत काम गरेका थिए । थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेको सुनाए । थापालाई उनकी श्रीमती गोरीको पनि साथ मिलेको छ । थापाले बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए । अबको १५ महिनापछि यी विरुवाले फल दिन सुरु गर्ने उनी बताउँछन् । थापाले बिरुवा लगाउने समयमा माटोको परीक्षण गरेका थिए । यो खेती एक हजार ५०० उचाइभन्दा तल राम्रो हुन्छ ।

थापालाई यसको उत्पादन भएपछि बजारको अभाव नहुनेमा ढुक्क छन् । अहिले यसको बजार मूल्य प्रतिगोटा २ सयदेखि ३०० पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापा बताउँछन् । थापा आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने योजनामा छन् ।