श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग रु. ३,००,०००।- घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक राकेश कुमार ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका संचालक दिपेन्द्र कुमार झालाई सेवाग्राहीबाट रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रौतहट, यमुनामाई गाउँपालिका वडा नं. ४, सरुअठ्ठा स्थित चन्द्रनिगाहपुर, गौरबाट मिति २०७८।१२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
गोदावरी नगरपालिका, कैलालीमा १३ वटा सडकका बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका ठेक्काहरुमा भुक्तान भएको परिमाण (Quantity) को स्थलगत निरीक्षणमा स्थानीय जनप्रतिनिधी, सम्बन्धित निर्माण व्यवसायी र ठेक्का कार्यान्वयन गराउने नगरपालिकाका प्राबिधिकहरुको उपस्थितिमा गुणस्तर परीक्षण नतिजा बाहेक खुद नापजाँचबाट निर्धारित शर्त तथा मापदण्डविपरीत निर्माण कार्य गराइएको देखिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देव राज जोशीले प्राबिधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाई हानिनोक्सानीमा संलग्न रहेको, इन्जिनियर र सबईन्जिनियरले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य र बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको देखिन आएको हुँदा देहायबमोजिमको कसूरमा सजायको मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
akahtiyar-chaitr-30चन्दननाथ माध्यामिक विद्यालय, जुम्लाका प्रा.वि. श्रेणीमा कार्यरत शिक्षक कलानन्द माझीले छोरा परीक्षार्थी शेखर माझीलाई परीक्षा केन्द्रमा उपस्थित नगराई हाजिरीमा उपस्थित देखाएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चन्दननाथ मा.वि., जुम्लामा कार्यरत तत्कालीन शिक्षक कलानन्द माझीले सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत आफ्नो छोरा शेखर माझीलाई राष्ट्रिय परीक्षा वोर्ड, सानोठिमी, भक्तपुरबाट मिति २०७५।०१।३० गतेदेखि मिति २०७५।०२।०९ सम्म श्री कर्णाली माध्यामिक विद्यालय, जुम्लामा संचालित परीक्षामा अंग्रेजी र फिजिक्स विषय पास गराउनको लागि सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिष्ट गैरकानूनी तरिकाले सच्चाई, थपघट गरी सोही सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा विद्यार्थीको नामथर पहिले नै विज्ञान विषय लिई कक्षा ११ र १२ को परीक्षा पास गरिसकेको प्रभात शाही उल्लेख गरी पुन: अर्को कन्ट्रोल लिष्ट बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको हुँदा निज शिक्षक कलानन्द माझी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ ।
त्यसैगरी श्री कर्णाली माध्यामिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्माले निज कलानन्द माझीसँगको मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा प्रभात शाही र शेखर माझी उल्लेख भएको दुईबटा कन्ट्रोल लिष्ट बुझी अंग्रेजी विषय र फिजिक्स बिषयको शेखर माझीले दिनुपर्ने परीक्षा प्रभात शाहीले दिएको भन्ने पूर्ण थाहा/जानकारी हुँदाहुँदै पनि केन्द्राध्यक्षले निर्वाह गर्नुपर्ने दायित्व एवं जिम्मेवारी पूरा नगरी गैरकानूनी रुपमा परीक्षामा सहभागी हुन दिएको कसुर पुष्टि भएको, प्रतिवादी शेखर माझी आफुले दिनुपर्ने परीक्षामा सहभागी नभई आफ्नो सिम्बोल नम्बरमा प्रभात शाहीको नाम उल्लेख गर्ने आफ्ना बाबु कलानन्द माझीको कसुरमा मतियार भै निज प्रभात शाहीबाट परीक्षा दिन लगाएको र निज प्रतिवादी प्रभात शाहीले समेत कलानन्द माझी र शेखर माझीको उल्लेखित कार्यको मतियार भै शेखर माझीको सट्टामा उपस्थित भई परीक्षा दिएबाट सरकारी कागजात गैरकानूनी रुपले सच्चाई थपघट गरी पुन: अर्को कन्ट्रोल लिष्ट बनाउने कसूर गरेको तथा शेखर माझीलाई कक्षा ११ को फिजिक्स र अंग्रेजी विषयको परीक्षामा पास गराई निज प्रतिवादीहरु शेखर माझी र कलानन्द माझीलाई लाभ पुर्याउने/लिने कार्य गरी मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको हुँदा श्री कर्णाली माध्यामिक विद्यालय, जुम्लाका तत्कालीन केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ को कसूरको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिमको कसूर गरेको हुँदा निजहरु उपर सोही ऐनको दफा ११ ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धांत्मक वाक्यांशबमोजिम मुख्य प्रतिवादीलाई हुने सजाय बराबर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम नै सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
चपडाही आधारभूत विद्यालय, हरिनगरा, सुनसरीका प्रधानाध्यापकसमेतले विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने व्यहोराको उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा श्री प्राथमिक विद्यालय नरसिंह -५ सुनसरीका पूर्व प्रधानाध्यपक (हाल अवकास प्राप्त ) सिद्धिनाथ लाल दास र महाविर प्राथमिक विद्यालय, वविया गाउँ विकाश समिति वडा नम्वर -९ सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोज कुमार चौधरीले तारणी प्रसाद खतिवडासँगको मिलेमतोमा जिल्ला शिक्षा कार्यालय सुनसरी ईनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय इनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका -१, सुनसरीमा रहेको सोही बैंकको खाता नम्वरमा साविकको खाता सञ्चालकहरु प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट उक्त खाता सञ्चालन गरी रु.५,६०,०००।–रकम निकाली हिनामिना गरेको देखिएको हुँदा प्रतिवादीहरु सिद्धिनाथ लाल दास र मनोज कुमार चौधरीले गरेको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर रहेको साथै प्रतिवादी तारणी प्रसाद खतिवडाले आफ्नो ओहदाको कर्तव्य पालना गर्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको कार्यमा निजहरु सिद्धिनाथ लाल दास र मनोज कुमार चौधरीले सोही ऐनको दफा १७ को कसुरको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजहरुलाई हिनामिना भएको रकम रू.५,६०,०००।– बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ११ बमोजिम तथा सोही ऐनको दफा १७ को कसुरको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश अनुसार ऐ. ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) तथा सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) वमोजिम सजाय गरी हिनामिना/हानि नोक्सानी भएको विगो ऐ. ऐनको दफा १७ बमोजिम जफत तथा असुल उपरगरी चपडाही निम्न माध्यमिक विद्यालय रामनगर भुटाहा, हरिनगरा गाउँपालिका -१, सुनसरीलाई दिलाई भराई दिने गरी मागदावी लिई लिइएको छ ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, शखा कार्यालय, ईनरुवा, सुनसरीका सहायक प्रबन्धक (हाल निलम्बित) तारणी प्रसाद खतिवडा एक राष्ट्रसेवक कर्मचारीको रुपमा कार्यरत रहँदा निजले आफ्नो कर्तव्य पालना गर्दा सिद्धिनाथ लाल दास र मनोज कुमार चौधरीसँगको मिलेमतोमा जिल्ला शिक्षा कार्यालय, इनरुवा सुनसरीको लेटरप्याड, छाप तथा दस्तखत किर्ते गरी हेरफेर गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय, सुनसरी, ईनरुवाबाट दस्तखत नमुना कार्ड नै परिवर्तन गरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका -१, सुनसरीमा रहेको सोही बैंकको खाता नम्वरमा साविकको खाता सञ्चालकहरु प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट उक्त खाता सञ्चालन गरी रु.५,६०,०००।–रकम निकाली हिनामिना गरेको देखिएको हुँदा निजले गरेको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ११ बमोजिमको कसुर रहेको साथै निजले आफ्नो कर्तब्य पालना गर्दाको अवस्थामा सार्वजनिक सम्पति हानिनोक्सानीको कार्य गरी सोही ऐनको दफा १७ बमोजिमको कसूरसमेत गरेको पुष्टि हुन आएकोले हिनामिना भएको रकम रू.५,६०,०००।– बिगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा ११ तथा सोही ऐनको दफा १७ ले निर्देशन गरेवमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) वमोजिम निजलाई सजाय गरी ऐ. ऐनको दफा १७ वमोजिम हिनामिना/हानिनोक्सानी भएको रकमसमेत निजबाट जफत तथा असुल उपरगरी चपडाही निम्न माध्यमिक विद्यालय, रामनगर भुटाहा, हरिनगरा गाउँपालिका -१, सुनसरीलाई दिलाई भराई दिने समेतको मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा, सुनसरी अन्तर्गत अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा क्षेत्रीय अनुसन्धान केन्द्र, बंङ्गुर अनुसन्धान इकाईमा इकाई प्रमुखको रुपमा कार्यरत रामदेव पण्डित, सहायक कर्मचारीहरुमा शकुन्तला राई र प्रकाश कुमार यादव तथा बंङ्गुर बेच्नका लागि प्रयोग हुने Culling Card मा हस्ताक्षर गर्ने अन्य कर्मचारीहरु लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्ण प्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरि कृष्ण श्रेष्ठको मिलेमतोमा बङ्गुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाई बिक्री गरी रु.७,००,०००।- हिनामिना गरी आफूलाई फाइदा र नेपाल सरकारलाई नोक्सानी गरेको देखिन आएकोले निजहरुलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ
akhtiyar-chaitra-29भूमिसुधार तथा मालपोत कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झाले जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग रु. ५,००,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झालाई सेवाग्राहीबाट रु. ५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित निजलाई भानुचोक, जनकपुर, धनुषाबाट मिति २०७८।१२।२८ गते बिहान ८:१५ बजे नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निजहरुलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. -५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।