कार्यदल बैठक जति बसे पनि दलहरूले ढिपी छाडेनन

-


     सुचनाको हक     
     वैशाख ५ गते २०७९ मा प्रकाशित


आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलको गठबन्धनले गर्ने तालमेलबारे दिनहुँ बालुवाटारमा बैठक बसे पनि कुरो मिल्न सकेको छैन । उम्मेदवारी मनोनयन गर्न एक साता बाँकी छँदा पनि मुख्य गरेर नेपाली काँग्रेसले आफ्नो ढिपी नछाडेको गठबन्धन दलका एक जना नेताले बताए ।

हिजो साँझ बसेको बैठकमा कुरो नमिलेपछि आज बिहान फेरि बैठक बसेको छ । तर आज पनि उही कुरो दोहोरिने आशंका गर्दै ती नेताले भने, ‘काँग्रेस अरु दलका नेतालाई गलाउने पक्षमा देखिएको छ । उसले आफूले जितेका र विगतमा मुख्य प्रतिस्पर्धी भएको ठाउँमा आफूले नै प्रमुख पाउनुपर्ने दाबी छाडेको छैन ।’

हिजो साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मुलुकभरिबाट प्राप्त डाटा प्रस्तुत गरिएको बताइन्छ । डाटामा मुख्यगरी देशभर पछिल्लो निर्वाचनमा एमालेले कति वटा स्थानीय तहमा विजय हासिल गरेको र मुख्य प्रतिस्पर्धीले कति मतले पछाडि परेको भन्ने विषय समेटिएको थियो ।

जसअनुसार एमाले स्थानीय तहमा मेयर,उपमेयर,अध्यक्ष र उपाध्यक्षमा विजयी भएको ६ सय २५ स्थान निकालिएको थियो ।

त्यसपछि छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको बारेमा कुरो भयो । त्यसबारे पनि डाटा प्रस्तुत गरियो तर कुरो नमिलेपछि आज बिहानसम्मको लागि बैठक स्थगित गरिएको हो ।

बैठकमा काँग्रेस आफ्नो अडानमा टसकोमस नभएपछि बाहिर चाहिँ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले धेरै पालिका मागेकाले कुरो बिग्रेको हल्ला चलाइएको माओवादी केन्द्रका एक जना नेताले बताएका छन् ।

ती नेताले भने, ‘हिजोको बैठकमा महानगरमात्र हेर्ने भनियो । काठमाडौं र पोखरा दुई वटामा एमालेले जितेका ठाउँमा अरु दलले बाँडफाँड गर्ने कुरो भयो । पोखरामा एकीकृत समाजवादीले दाबी गर्यो । तर काँग्रेसको मनशाय काठमाडौं र पोखरा दुवैमा आफैँ उठ्ने देखियो । उसले पहिलेको चुनावमा दुवैको मुख्य प्रतिस्पर्धी आफू भएको जिकीर गरेको थियो ।’

यता एकीकृत समाजवादीले भने गत चुनावमा ती महानगरपालिका जितेको एमालेको पक्षबाट हेर्नुपर्ने धारणा राखेको बताइन्छ । उसले ‘पार्टी ब्रेक’ गरेर आएकाले ती ठाउँमा आफ्नो शक्ति ठूलो भएको दलिल थियो ।

जसपाले भने आफूले जितेको वीरगन्जबाहेक अन्यत्र कुरो गरेको छैन । तर त्यसमा पनि काँग्रेसले नछाड्ने भनेर मुखै खोलेको छ । ‘एमालेले नजित्ने र समाजवादीलाई पनि मुश्किल पर्ने भएकाले काँग्रेसको सम्भावना अधिक रहेको,’ नेपाली काँग्रेसको दाबी छ ।

पछिल्ला दिनमा विभिन्न जिल्लाबाट प्राप्त रिपोर्टमा काँग्रेसले अधिकांश पालिकामा नछाड्ने मनस्थिति बनाएको अन्य दलका नेताहरुले महशुस गरेको बताइन्छ ।