पूर्व पहाडी जिल्ला ताप्लेजुङमा गठबन्धनका कारण माओवादी केन्द्रलाई फाइदा भएको छ। अघिल्लो निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीलाई यसपटक दुइटा गाउँपालिका उपहार मिलेको छ।
माओवादीले यसपटक मैवाखोला र फक्ताङलुङ गरी दुइटा गाउँपालिका जितेको छ। मैवाखोलामा विजयप्रकाश वनेम र फक्ताङलुङमा राजन लिम्बु विजयी भएका छन्। जबकि अघिल्लो निर्वाचनमा यी दुबै गाउँपालिका एमालेले जितेको थियो।
मैवाखोलाको हकमा अघिल्लो निर्वाचनमा माओवादी तेस्रो दल बनेको थियो। एमालेका राजनकुमार थत्लुङ १२१९ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी डम्बरबहादुर चोङवाङ लिम्बुले १२१९ मत ल्याएका थिए। जबकि लिम्बु एमालेबाट टिकट नपाएपछि कांग्रेससँग मिलेर रूख चिह्न लिएर चुनाव लडेका थिए।
तेस्रो दल बनेको माओवादीबाट नविन वानेमले जम्मा ८६९ मत ल्याएका थिए। तर यसपालि माओवादीबाट निर्वाचित विजयप्रकाश वनेमले २६०९ मत ल्याएका छन्। यो भनेको माओवादीले अघिल्लोपटक पाएको मतभन्दा १७४० मतले बढी हो। मैवाखोलामा यसपालि माओवादी, कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल थियो।
एमालेका प्रदेश १ कमिटी सदस्य गोपाल थोप्राले गठबन्धनकै बलमा माओवादीले दुइटा पालिका जितेको बताएका छन्। उनले भने, ‘दुइटै गाउँपालिकामा माओवादीको संगठन कमजोर हो। त्यसैले छुट्टाछुट्टै लड्दाको अवस्थामा दुबैमा एमालेले जित्ने ठाउँ हो।’
अर्को कुरा मैवाखोलामा एमालेभित्र देखिएको आन्तरिक समस्याले गर्दा पनि अहिलेको नतिजा आएको स्थानीय नेताहरू बताउँछन्। अहिलेका अध्यक्षका उम्मेदवार पार्टीभित्रै अलोकप्रिय हुँदाहुँदै पनि पार्टीले उसैलाई टिकट थमाइदिँदा धेरै नेताहरू रुष्ट भएको एक नेता बताउँछन्।
प्रदेश कमिटी सदस्य थोप्राले कांग्रेसबाट सोचेभन्दा बढी मत गएका कारण पनि मैवाखोलामा माओवादीलाई फाइदा पुगेको जनाए।
माओवादीलाई नरूचाउने धेरै कांग्रेसीहरू रहेको उल्लेख गर्दै उनले भने, ‘हामीलाई कांग्रेसले माओवादीलाई अलिक मत दिँदैन भन्ने लागेको थियो तर त्यस्तो भएन। यसपटक कांग्रेसबाट सबैले मत दिए।’
फक्ताङलुङ गाउँपालिकाको हकमा भने पछिल्लो समय माओवादीले त्यहाँ राम्रो संगठन विस्तार गरेको थोप्रा बताउँछन्। उनले त्यहाँ पनि एमालेकै प्रभाव रहे पनि अहिले अध्यक्षमा निर्वाचित भएका व्यक्ति राम्रो भएका कारण संगठन बलियो रहेको जनाए।
अहिले निर्वाचित अध्यक्ष आर्थिक रूपले पनि बलियो रहेको उल्लेख गर्दै एक नेताले भने, ‘अहिले उठेको उम्मेदवार धेरै पैसावाला हो। भूपू सिंगापुरे लाउरे भएकाले उहाँलाई आर्थिक रूपले पनि सजिलो भयो।’
यसअघिको निर्वाचनमा फक्ताङलुङमा माओवादीले जम्मा ८२८ मत ल्याएको थियो। जबकि एमालेका सरोज लिम्बु १९९८ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका मनिप्रसाद लिम्बुले १६६५ मत पाएका थिए। तर अघिल्लो पटक दोस्रो मत रहँदारहँदै पनि कांग्रेसले अध्यक्षको टिकट थमाइदिँदा त्यसको फाइदा माओवादीले लियो।
यसपटक माओवादीबाट फक्ताङलुङमा राजन लिम्बु २६६० मतसहित निर्वाचित भएका छन्। उपाध्यक्षमा भने कांग्रेसकी रविन साम्रा लिम्बु २३५८ मतसहित विजयी भएकी छन्।