गैरकानूनी सम्पत्ति आर्जन गर्ने विरुद्व अख्तियार द्वारा मुद्दा दायर

-


     सुचनाको हक     
     असार ३ गते २०७९ मा प्रकाशित


स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भिमकान्त भण्डारी मिति २०७३/०६/२१ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७७/०४/०१ मा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६।०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६,५०,६५,६४२।५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु. २६,६१,६३६।०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु.६,५०,६५,६४२।५३ घटाउँदा हुन आउने रु. ६,२४,०४,००६।४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज भिमकान्त भण्डारीलाई बिगो रु. ६,२४,०४,००६।४४ (छ करोड चौबीस लाख चार हजार छ रूपैयाँ चौवालीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफततर्फ ऐ. ऐनको दफा ४७ बमोजिम बिगो रु.६,२४,०४,००६।४४ निजको नाममा रहेको सम्पत्तिबाट रु.६,०६,४१,८१३।९१ र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट रु.१७,६२,१९२।५३ समेत जम्मा रु. ६,२४,०४,००६।४४ जफत गर्न मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।