जिल्ला डोटी सायल गाउँपालिका वडा नं. ५ मा आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित रकमवाट मेल्लेख चनपन्ना सडकको काम नै नगरी मिलेमतोमा रकम भुक्तानी दिई आर्थिक अनियमितता/भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डोटी जिल्ला, सायल गाउँपालिका वडा नं. ५, को मेल्लेख चनपन्ना देवरमाण्डौ, कृषि सडक योजनामा रु.१४,३४,२८६।१४ बराबरको कार्य फिल्डमा नभएको र हुँदै नभएको कामको समेत रकम भुक्तानी दिएको/लिएको पुष्टि हुन आएकोले देहायका कर्मचारी एवं व्यक्तिहरुलाई देहाय बमोजिमको कसुरमा देहाय अनुसार सजाय हुन मागदाबी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।
जिल्ला पर्सा, साविक गा.वि.स. भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक समेतले विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका निर्माण समितिका अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद, र सदस्य रामचन्द्र सा कानुले समितिका अध्यक्ष कन्हैया साह कानुलाई नै अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुले लिएको रु.११,९५,०००।–पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरी विद्यालय भवन निर्माण गर्ने भनी प्रचलित खरिद ऐन नियम विपरीत सम्झौतासमेत नगरी पेश्की लिई/दिई सार्वजनिक संस्थाको सम्पत्तिको लापरवाही र वदनियतपूर्ण तरिकाले हिनामिना, हानिनोक्सानी एवं दुरुपयोग गरे गराएको देखिएको हुँदा निजहरुको उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निजहरु कन्हैया साह कानु, राम वचन प्रसाद र रामचन्द्र सा कानुलाई सोही ऐनको दफा १७ एवं ३(१) र ३(१)(च) बमोजिमको सजाय हुन तथा निजहरुले हिनामिना र हानिनोक्सानी गरेको रकम रु.११,९५,०००।– सोही ऐनको दफा १७ बमोजिम निजहरुबाटै असुल उपर हुनसमेत मागदाबी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
श्री पिपरहवा माध्यमिक विद्यालय पिपरहवा, रुपन्देहीका तत्कालीन शिक्षक अमरनाथ मिश्रले उक्त विद्यालयमा माध्यमिक तह अस्थायी राहत कोटाको गणित विषय अध्यापनको लागि पेश गरेको माध्यमिक तह अध्यापन अनुमतिपत्र नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अस्थायी शिक्षक अमरनाथ मिश्रले श्री पिपरहवा माध्यमिक विद्यालय, रुपन्देहीमा माध्यमिक तहको राहत दरवन्दीमा अस्थायी शिक्षकको रुपमा मिति २०६६।०१।२० गतेदेखि २०७१।१०।०३ गतेसम्म अध्यापन गर्दा झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी माध्यमिक तहको राहत शिक्षकमा नियुक्ति लिई लाभ लिएको देखिएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएकोले निज अमरनाथ मिश्रउपर सोही कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
जिल्ला सर्लाही, साविक सलेमपुर गा.वि.स. मा विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन गा.वि.स. सचिव ध्रुव नारायण झाले रु.७,५१,०००।- रकम विभिन्न व्यक्तिको नाममा निकाली सरकारी रकम हिनामिना गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज ध्रुव नारायण झालाई रु.७,५१,०००।- (सात लाख एक्काउन्न हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए अनुसार ऐ. ऐनको दफा ३(१) र दफा ३ को (१) (ङ) बमोजिम जरिवाना र कैद सजाय हुन तथा हिनामिना हानिनोक्सानी भएको बिगो ऐ. ऐनको दफा १७ बमोजिम निज ध्रुव नारायण झाबाट असुल उपर गरी पाउन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।