जनता टाइम्सलाई प्रेस काउन्सिलको २४ घण्टे पूर्जी

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


पत्रकार आचारसंहिता प्रतिकूल यौनजन्य, अश्लील एवं उत्तेजक शीर्षक राखेर समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले जनता टाइम्स अनलाइनलाई स्पष्टीकरण सोधेको छ ।

जनता टाइम्सले गत असार ३० गते ‘कामुक यौनकथाः एक वर्षपछिको त्यो रंगीन रात’ र त्यसको भोलिपल्ट ‘खोल्सा छेवैको रुखको छहारीमा तिर्खा मेटियो’ भन्ने शीर्षकमा समाचार छापेको थियो ।

त्यसैगरी, ‘सेक्ससम्बन्धी रोचक जानकारी जुन कुराले तपाई अचम्मित हुनुहुन्छ’ र ‘यौन पेशा गर्न छाडिदिइन् जागिर, भन्छिन् : आफ्नो काममा खुसी छु,’ लगायतका समाचार पनि प्रकाशित गरेको काउन्सिलले जनाएको छ ।

एजेन्सीको हवाला दिँदै, ‘किन यौन गरेपछि अर्कोचोटि गर्न मनलाग्छ,’ भनेर सम्प्रेषण भएको सामग्रीले पनि ध्यानाकर्षण भएको काउन्सिलले बताएको छ ।

पत्रकार आचारसंहिताको दफा ५ को उपदफा ३ को गम्भीर उल्लंघन भएकाले काउन्सिलले ती सामग्री तत्काल हटाई सोही लिंकमा क्षमायाचना गर्न निर्देशन दिएको छ ।

साथै, सामाजिक सञ्जालबाट पनि ती सामग्री हटाउन भनिएको छ । काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पनि अल्टिमेटम दिएको हो ।