मनहरी गाउँपालिकामा ३० करोड बेरुजु

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


मकवानपुरका १० पालिकामध्ये तेस्रो ठूलो र बागमती प्रदेशकै सबैभन्दा बढी आन्तरिक आय भएको मनहरी गाउँपालिकाको आर्थिक प्रगतिमा निरन्तर प्रश्न चिह्न खडा हुँदै आएको छ । अघिल्लो कार्यकालको समीक्षा गर्दा झण्डै ३० करोड रुपैयाँ बेरुजु पाइएको छ । ०७७/७८ मा मकवानपुरको बकैया गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ ।

यसअघि ५८ औँ प्रतिवेदनमा थाहा नगरपालिकाको बेरुजु सबैभन्दा कम थियो । बकैया गाउँपालिकाको १ अर्ब ४९ करोड ३८ लाख ४० हजार रुपैयाँको लेखा परीक्षण गरिँदा १ करोड ५२ लाख ६८ हजार अर्थात् १.०२ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

५८ औँ प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु देखिएको बागमती गाउँपालिकाले आफूलाई सुधार गरेर दोस्रो स्थानमा ल्याएको छ । उसको बेरुजु प्रतिशत २.३३ छ । तेस्रो स्थानमा हेटौँडा उपमहानगरपालिकाको ३.३७ छ । चौथो स्थानमा थाहा नगरपालिकाको बेरुजु ३.९६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

अन्य गाउँपालिकाहरूमध्ये इन्द्रसरोवरको बेरुजु प्रतिशत ५.०१, कैलाशको ५.३९, भीमफेदीको ४.६९, मकवानपुरगढीको ५.५६, राक्सिराङको ४.१६ छ । मनहरी गाउँपालिकाको सबैभन्दा बढी बेरुजु १०.२५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

मनहरी गाउँपालिकाबाट वार्षिक गिटी ढुंगाबालुवाबापतको आम्दानी नै २५ करोडको हाराहारीमा हुने गर्छ । त्यसो त मनहरी गाउँपालिकामा तत्कालीन अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व भई उपाध्यक्षको राजीनामा समेत राष्ट्रिय चर्चाको विषय बनेको थियो । अदालतले राजीनामा काण्डलाई बदर गरिदिएको थियो ।

अहिले आएको नयाँ नेतृत्वले बेरुजु प्रतिशत घटाउनका लागि गाउँ सभा सदस्य गंगा सुनारको नेतृत्वमा लेखा समिति गठन गरी छानबीन प्रक्रियालाई अघि बढाइरहेको छ । एघारौँ गाउँसभामा ५ करोड ९१ लाख रुपैयाँ बेरुजु नियमित गर्नका लागि पेश गरी पारित गरिएको लेखा समितिका सदस्य सचिव दिपेश महतोले बताए ।