ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ । आज ललितपुर महानगरपालिकाको नगरसभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गर्ने क्रममा उक्त निर्णय गरिएको हो ।
महानगरपालिका प्रमुखले चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताउनुभएको छ । उहाँले सुशासन वर्षमा महानगरले खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवद्र्धन गरेर, वडालाई विकासको केन्द्रको रुपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताउनुभयो ।
महानगरले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना पनि बनाएको छ । वारुणयन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद्सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोड बाहिरका वडाहरूमा फोहर संकलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको महानगर प्रमुख महर्जनले बताउनुभयो ।
महानगरपालिकाले सबै वडामा सम्भव भएसम्म आधुनिक अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने प्रमुखको भनाइ छ । आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजश्व संकलन प्रक्रियालाई अनलाइन प्रणालीमा आबद्ध गरिने छ ।
मेडिकल टिम बनाएर प्रत्येक घरघरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने गरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने प्रमुख महर्जनले बताउनुभयो । त्यस्तै, महानगरले शैक्षिक क्रियाकलापमा एकरुपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । खानेपानी व्यवस्थामा विशेष जोड दिँदै सम्भाव्य स्थानमा वाटर एटिएमको व्यवस्था गर्ने बताइएको छ ।
महानगरले छिमेकी नगरपालिकाहरुको परियोजनामा सहयोग गर्ने योजना पनि बनाएको छ । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को निम्ति छ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ दुई अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ चार अर्ब आठ करोड ७३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको हो ।
महानगरपालिकाको छ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको प्रस्तुत बजेटमा आन्तरिक स्रोत तीन अर्ब ९६ करोड, संघीय सशर्त अनुदान ६५ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान २९ करोड ९८ लाख चार हजार र अन्तर सरकारी वित्तीय हस्तान्तरण एक अर्ब ७० करोड ४१ लाख १९ हजार रुपैयाँ रहेको छ । चालु खर्चतर्फको ४५ करोड रुपैयाँ ललितपुर महानगरपालिकाभित्रका ७३ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक एकमुष्ठ रुपमा १० हजारका दरले प्रदान गरिने छ ।