आयो चुनाव,प्रहरीमा लुट्नलाई झनै छुट ?

-


     सुचनाको हक     
     श्रावण ६ गते २०७९ मा प्रकाशित


नेपाल प्रहरीभित्र संगठनको मूल मन्त्र ‘सत्य,सेवा सुरक्षणम्’ को ठीक उल्टो कार्य हुन थालेपछि फेरि उक्त सुरक्षा निकाय विवादको घेरामा तानिएको छ । उच्च अधिकारीहरुको पदसँगै कुकृत्य पनि उच्च हुँदै गएकाले अहिले प्रहरी संगठनभित्रको सरुवा र बढुवामा धेरैले भर गर्न छाडेका छन् ।

त्यसको उदाहरण बनेका छन् लुम्बिनी प्रदेश कार्यालयका प्रमुख डिआइजी नलप्रसाद उपाध्याय । एआइजी विश्व पोखरेलले राजीनामा दिएपछि बढुवाको मुखमा पुगेका तीन जना डिआइजीमध्ये वरिष्ठताको आधारमा सबैभन्दा अगाडि उनै उपाध्याय देखिएका छन् । तर,केही वर्षदेखि सम्पादित गलत कार्यको फेहरिस्तले उनी अहिलेकै पदका निम्तिसमेत योग्य नभएको प्रमाणित हुँदैछ ।

एसएसपी नलप्रसाद डिआइजीमा बढुवा हुनासाथ पाँच छ महिनामै मुकुन्द आचार्यलाई हेडक्वार्टर तानेर लुम्बिनी प्रदेश कार्यालयको प्रमुख बने । उनी डिआइजीको जिम्मेवारी सम्हाल्न गत स्थानीय तहको निर्वाचनभन्दा एक साताअघि मात्र दाङ्ग पुगेका हुन् । तर हाजिर भएर आएको भोलिपल्टैदेखि उनले द्रव्यमा देखाएको आशक्ति,सिपाहीसम्मका घुमुवालाई आफै फोन गरेर बोलाइएका व्यवहार र भेटेका मान्छेसँगको कुराकानी कहालीलाग्दो पाइएको छ । पछिल्लो पदको जिम्मेवारी सम्हालेको दुई महिनामा उनले गरेका कतिपय निर्णय हेर्न सुन्नसमेत नसकिने खालका छन् ।

“सेना र न्यायालयमा झैं प्रहरी संगठनमा पनि जतिसुकै ठूला अधिकारीलाईसमेत गल्तीबमोजिम दण्ड सजायको व्यवस्था गरिदिने हो भने त्यस्तो गलत प्रवृत्ति छोटै समयमा ठेगान लाग्छ । नत्र त उही हो,फोटो झुन्ड्यायो,पेन्सन खायो,अवकाश पाएको भोलिपल्टदेखि सिपाहीले समेत बाटोमा देख्ला भनेर मुन्टो बटार्यो ।”

उनी स्थानीय तह चुनावको मुखैमा बैशाख २१ गते लुम्बिनी प्रहरी कार्यालयमा हाजिर भएका थिए। पहिले नवलपरासीमा बसेको नाताले त्यता हुँदै उनले भोलिपल्टदेखि रकम कलमको निम्ति घुमाएको फोन र दबाएको मोबाइलको कल डिटेलले पनि आइजिपी धिरजप्रताप सिंहको शून्य सहनशीलतालाई कुरिकुरी भन्न काफी हुने कतिपय एआइजीहरुकै ठहर छ । पहिले एसपी हुँदा र नवलपरासी बस्दाका घुमुवाहरु परिचालन गरेर उनी खल्ती भर्ने महान यात्रामा होमिएका हुन् ।

तराईतिरका प्रहरी र सिभिल प्रहरी सामान्यतयाः अन्यत्रको तुलनामा धेरै ठाउँ घुम्छन् । त्यहि फर्मुलाअनुसार भोलिपल्टदेखि उनले आफ्नो मान्छे प्रयोग गरेर नवलपरासीको कुन नाकामा के कस्ता गतिविधि भइरहेको छ ? भनी बुझ्न थालेका हुन् । उनले नाकाको सत्यतथ्य नबुझी नेपालगञ्ज,नवलपरासी र रुपन्देहीमा आँखा लगाएका थिए । दुई दिनसम्म रकम कलमको जवाफ नदिएका प्रहरी जवानदेखि इन्सपेक्टरसम्मलाई, ‘केटाहरु,तिमेरु खत्तम रहेछौ । ख्वै प्रगति विवरण ? अझै खटिएका छैनौ ?,’ भनेर हप्काउने वा दपेट्ने गरेको भुक्तभोगीहरु बताउँछन् ।

“उनी अख्तियारमा छ वर्ष बसेर त्यता गएका इन्सपेक्टर हुन् । पाण्डेसँग पनि सीधै मासिक दस्तुर मागिएपछि नलप्रसादको ढलतन्त्रको थप पर्दा खुलेको हो ।”

अर्को साता चुनाव भएको अवस्थामा प्रदेश प्रमुख बनेर आएका उपाध्यायले समग्र शान्ति सुरक्षाबारे कुनै चासो नदेखाएको र उठ्तीपुठ्तीतिर मात्रै अर्जुन दृष्टि लगाएको प्रदेशका अधिकांश प्रजिअ,गुप्तचर,गण-गुल्मपति,एसपी र डिएसपीको तीतो अनुभव छ । एक जना कार्यालय प्रमुखले भने,‘सुरक्षा व्यवस्था,थप मद्दत,हातहतियारको प्रबन्ध,अन्य सुरक्षा निकायसँगको समन्वयबारे कुनै चासो देखाएनन् । उल्टै दिनहुँ लौ त्यहाँ नाका खुलेको छ, रोक्न पर्यो,ठीक भएन भनेर थर्काउँदै घुमाउरो तवरले नजरानाको कुरो गरे । हामीलाई रिससँगै लाज पनि लाग्यो ।’

चुनावताका नलप्रसादले भनेका र गरेका कतिपय कुरो र व्यवहार प्रदेशका केही प्रहरी कर्मचारीले आफ्ना हाकिमलाई सुनाएपछि गृहमन्त्रीकै गृह प्रदेश लुम्बिनी रोजाइको भित्री रहस्य खुलेको हो । त्यो कुरो एक कान,दुई कान हुँदै मैदान हुने क्रममा प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयसम्म पुगेको बताइन्छ । तर चितवनको शारदानगर माविमा स्थायी शिक्षकको दरवन्दी रही हाल मन्त्री बालकृष्ण खाँणको स्वकीय सचिव बनेका नरेन्द्र केसीमार्फत मासिक मोबाइल रिचार्ज र अन्य कोशेली मन्त्राणी मन्जुकोमा पुग्ने भएपछि उनको कमाउ धन्दाले झन निरन्तरता पाएको देखिन्छ ।

गत बैशाख ३० गते चुनाव सकिएपछि उनै हाकिमले मातहतका कर्मचारी र अधिकृतसम्मलाई थर्काउन थालेका छन् । उनले बिहानदेखि बेलुकीसम्म उठ्ती र पुठ्तीको मात्रै कुरो मात्र गर्न थालेपछि अधिकांश जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी भित्रभित्रै मुर्मुरिएका हुन् । नलप्रसादसँग मातहतको जिल्लामा रहेर काम गरेका एक जना डिएसपीले भने,‘बैशाख ३१ गतेसम्म चुनाव तयारीबारे कसैसँग च पनि उच्चारण गरेनन् । चुनाव सकिएपछि पनि आजसम्म कुनै समीक्षाको आवश्यकता नै ठानेनन् । बरु जेठ २ गते लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणअघि उनले सबैतिर फोन घुमाए र हतार हतारमा थप सुरक्षाकर्मी चाहियोसम्म चाहिँ भनेका थिए ।’

“चुनावताकाको उक्त घटनामा डिआइजीले जवानलाई फोन गरेर ‘एसपीलाई भन्न पर्दैन,सिधै म कहाँ आउनु,’भनेका थिए ।

त्यसक्रममा उनले रुपन्देहीको एसपीलाई भन्न नमिल्ने कतिपय कुरा डिएसपीलाई बताउने गरेका थिए । एसपी रविन्द्र रेग्मी हक्की र कडा स्वभावका भएकाले नलप्रसादले आफ्नो धोती खुस्कने डरले उनीभन्दा मुनिका डिएसपी रोजेको सहजै अनुमान गर्न सकिन्छ । बढुवाको मुखमा भएकाले डिएसपीलाई थर्काउन उनले सहज मान्ने गरेका थिए । ती डीएसपी अहिले एसपीमा बढुवा भएका छन् । चुनाव र लुम्बिनीमा भएको भारतीय प्रधानमन्त्रीको भ्रमणताका उनको ड्युटीको मूल्याङ्कन अत्यन्त कमजोर रहेको निश्कर्ष निकालिएको थियो । भारतीय भ्रमण टोलीले नेपाली सुरक्षा व्यवस्थापन ‘खत्तम’ भनेका थिए । यसर्थ आइजिपीहरु सुरक्षा ब्यवस्थापनको कमाण्ड गर्न जाँदासमेत तिनलाई परराष्ट्रको शिष्टाचार महापाल दुबसु क्षेत्री लगाएर कुनै भाउ दिइएन ।

डिआइजीको विगत र अहिलेको हर्कतबारे प्रष्ट पार्दै रुपन्देहीका एक जना प्रहरी अधिकृत भन्छन्,‘एक जना केवट थरका असईलगायत अन्य धेरै गैरव्यवसायिक जवानलाई अहिले उनले च्यापेका छन् । विगतमा ती जवानलाई संगठनको निम्ति हानिकारक भएको निश्कर्ष निकालेर कारवाहीस्वरुप रोल्पा,रुकुम,गुल्मी, अर्घाखाँची पठाइएको थियो । अहिले तिनै उनका प्रिय भएको पाइयो ।’ अहिले रुपन्देही,कपिलवस्तु र नवलपरासीतिर ल्याइएका घुमुवाहरु तिनैमध्येका भएको बताइन्छ । डिआइजीको जिम्मेवारी सम्हालेको पहिलो काम नै त्यस्ता घटियालाई आफ्नो मातहत ल्याउनेबाट शुरु गरिएको आरोप छ ।

त्यसैगरी जलान थरका जवानले पाल्पाका एसपीलाई रिपोर्ट गर्ने क्रममा बाँकेका एसपीको फोन दबाउन पुगे । चुनावताकाको उक्त घटनामा डिआइजीले जवानलाई फोन गरेर ‘एसपीलाई भन्न पर्दैन,सिधै म कहाँ आउनु,’भनेका थिए । ‘डिआइजी सा”बले बोलाउनुभएको छ,म त्यता जानुपर्ने भयो सर,’ भनेर जलानले फोनमा कुरा गरेपछि अर्कै जिल्लाका एसपीले उनलाई ‘मलाई नसोधिकन जान्छस् ?’ भनेर जिज्ञासा राखेका थिए ।

पहिले ती प्रहरी जवानलाई त्यहि जिल्लाबाट कारवाहीस्वरुप पाल्पा लखेटिएको थियो । अहिले कृष्णनगर भन्सारमा इञ्चार्ज शैलेन्द्र पाण्डे छन् । उनी अख्तियारमा छ वर्ष बसेर त्यता गएका इन्सपेक्टर हुन् । पाण्डेसँग पनि सीधै मासिक दस्तुर मागिएपछि नलप्रसादको ढलतन्त्रको थप पर्दा खुलेको हो ।

यस्ता धेरै हर्कतमा संलग्न उनै डिआइजी अहिले रिक्त एआइजी बढुवाको निम्ति मुख्य उम्मेदवार बनेका छन् । आफैँले घुस खाएका जिल्लाका एसपी,डिएसपी, इन्सपेक्टरहरुले एआइजी भएपछि गर्ने उनीप्रतिको श्रद्धा र सम्मान कस्तो होला ? यति ठूलो र संवेदनशील विषयमा प्रहरीको उपल्लो तहले उनको आरोपबारे यथासक्य निर्क्यौल नगर्दा अहिले भ्रष्टाचार, र शिष्टाचारको मूलमन्त्र प्रहरीभित्र अलपत्र पर्न थालेको हो ।

‘एसपी र डिआइजी पदकै गरिमा कायम राख्न नसक्ने काण्डै काण्डवाला मान्छे सोर्सफोर्सको बलमा एआइजी बने भने हालत के होला ?,त्यस्तो सँस्थाको मर्यादा कहाँ पुग्ला ?’ नलप्रसादबारे जिज्ञासा राख्दै स्रोतले बताएको छ । अहिल उनी जुन प्रदेशको जिम्मामा छन् त्यो आर्थिक,राजनीतिक र सामाजिक हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । त्यहाँ भैरहवा,कृष्णनगर,नेपालगञ्जजस्ता ठूला नाका छन् । परासीलगायतका साना तर रणनीतिक हिसाबले संवेदनशील नाका पनि त्यहिँ छन् ।

डिआइजी बनेको दुई महिनामै उनको टिमले गाईगोरु,बाख्रा,भैंसी,सिमेन्ट,रड,मेशिनरी पार्टपुर्जा,विद्युतीय सामाग्री तस्करदेखि सारासँग बटुलेको धनको बारेमा विश्व पोख्रेलभन्दा म काविल र योग्य हुँ भन्दै केही गरेर देखाउन आएका धिरजप्रतापले छानबिन टोली पठाएर अनुसन्धान गर्न पर्दैन ? सिआइबी र उपत्यका अपराध अनुसन्धानमा बसेर देखाइएको अब्बल कार्यसम्पादनलाई आइजिपीको फुली थप्नासाथ डस्ट बिनमा फाल्न मिल्छ ?

खास दु:ख गरिरहनै पर्दैन,आइजिको सचिवालयले बाँके,नवलपरासी, रुपन्देही,दाङ्ग,कपिलवस्तुलगायत जिल्लाका वरिष्ठ अधिकृतसँग बुझेको अवस्थामा यी सबै सन्दर्भ स्वत: पुष्टि हुनेछ । एउटा संस्था प्रमुख जतिसुकै शुद्ध र इमान्दार भए पनि आफूले कलम चोपेर बढुवा गराइदिएका पात्रहरु लगत्तै कुपात्रमा परिणत भए भने त्यो संस्था कहिल्यै उँभो लाग्दैन,त्यसतर्फ पनि बेलैमा ध्यान दिनुपर्ने सरोकारवालाहरुको निचोड छ ।

गम्भीर आरोप लागेपछि निकालिने छानबिनको निचोडले प्रहरी संगठन मात्रै होइन कुनै पनि फौजी संस्थाप्रतिको जनबिश्वासमा बढोत्तरी हुने पक्का छ । सोही क्षेत्रमा रहेका यसअघिका पीताम्बर अधिकारी,शेरबहादुर बस्नेत,मिङ्ग्मार लामा,सुरेन्द्रबहादुर शाह,मधुप्रसाद पुडासैनी,मुकुन्द आचार्य,रविन्द्र धानुकहरुसँग दाँज्ने हो भने पनि अहिलेको आरोप र निश्कर्षको छनक पाइन्छ ।

कुनै पनि सरकारी निकायमा भ्रष्टाचार र बेथितिलाई शून्य सहनशीलतामा नझारेसम्म संस्था कदापी माथि जान सक्दैन । त्यहि मान्यतालाई आत्मसात् गरेका कारण न्यायालय अहिले बिस्तारै सुधारतर्फ लम्केको देखिदैछ । सेना र न्यायालयमा झैं प्रहरी संगठनमा पनि जतिसुकै ठूला अधिकारीलाईसमेत गल्तीबमोजिम दण्ड सजायको व्यवस्था गरिदिने हो भने त्यस्तो गलत प्रवृत्ति छोटै समयमा ठेगान लाग्छ । नत्र त उही हो,फोटो झुन्ड्यायो,पेन्सन खायो,अवकाश पाएको भोलिपल्टदेखि सिपाहीले समेत बाटोमा देख्ला भनेर मुन्टो बटार्यो । यो समाचार हामीले जन आस्था बाट लीइएका हौ l