गंगादेव गाउँपालिका इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्धा

-


     सुचनाको हक     
     श्रावण १२ गते २०७९ मा प्रकाशित


जिल्ला रोल्पा, गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज नविन डाँगीलाई सेवाग्राहीसँग रु.५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०३।२४ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा गंगादेव गाउँपालिका, रोल्पामा प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताव तयार गरी अन्तिम भुक्तानीको लागि फाइल पेश गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. ५०,०००।–घुस/रिसवत माग गरी लिएको एवं खानतलासी गर्ने क्रममा बरामद भएको रकम रु. ३,५६,५००।–समेत काम गरिदिएवापत सेवाग्राहीहरुबाट लिएको भनी उल्लेख गरेको र रकमको श्रोत खुलाउने बस्तुनिष्ठ प्रमाण पेश गर्न नसकेकोले उक्त रकम निजले सेवाग्राहीहरुबाट घुस/रिसवतवापत लिएको देखिएको हुँदा निज इन्जिनियर नविन डाँगीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुरमा बिगो रु. ४,०६,५००।–(चार लाख छ हजार पाँच सय रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद सजाय हुन तथा निजबाट बरामद भएको रकममध्ये रु. ३,५६,५००।– सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।

QBXscV