आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैं फन्दामा परेका छन् ।
जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका वासिन्दा अरुणकुमार चौधरी आफैंले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् ।
ढाँटछल गरेर भाइको ५ लाख रुपैयाँ लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।
गत शुक्रवार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कंदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले ५ लाख रुपैयाँ नगद लुटेर लगेका प्रहरीलाई बताएका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो ।
‘लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौं, त्यो त पूरै नाटक रहेछ,’ ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको तयारी गर्दैछौं ।’
अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको ५ लाख रुपैयाँ नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेका प्रहरी अनुसन्धानबाट खुलेको हो । चौधरीले प्रहरीसमक्ष आफ्नो कर्तुत स्वीकार गरिसकेका प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।
चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग ंरकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन् । अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैंले कोतरेर घाउ बनाएको वयान दिएको प्रहरी निरीक्षक मिश्रले बताए । चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन् ।
यसअघि हिजो शनिवार चौधरी लुटिएका समाचार सञ्चारमाध्यममा प्रसारित/प्रकाशित भएका थिए । प्रहरीले शनिवार साँझ घटनाको यथार्थ अनुसन्धानबारे बताउनुअघि लुटपाट घटनाबारे समाचार बाहिरिएको थियो ।
जुन समाचार यस प्रकार रहेको थियो :-
महोत्तरीको गौशाला–सम्सी सडक खण्डमा छुरा प्रहार गरी एक जना व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि नचिनेको समूहले छुरा प्रहार गरी उहाँको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हो ।
आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आउनु भएका अरुण गौशालाबाट पैसा बोकी प्रदेश-२–०२–००४ प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले पैसा लुटेको थियो । चौधरीको मोटरसाइकल रोकी तिघ्रामा छुराले हानेर घाइते बनाइ पैसा लुटेर त्यस समूहका मानिस भागेका थिए ।
छुरा प्रहारबाट घाइते हुनुभएका चौधरीको गौशालामा रहेको पोलिक्लिनिकमा उपचार भइरहेको छ भने लुटेराहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।