४ हजार रोपनी सरकारी जमिनको संरक्षणमा नगरपालिका

-


     सुचनाको हक     
     श्रावण १७ गते २०७९ मा प्रकाशित


वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ श्रीलङ्का टप्पु स्थित गरैयामा रहेको सरकारी जमिनको संरक्षणमा नगरपालिका लागि परेको छ ।

खुल्ला रुपमा रहेको करिब ४ हजार रोपनी सरकारी जमिनमा अतिक्रमण हुन थालेपछि जमिन संरक्षणमा नगरपालिका लागि परेको हो ।

नगर प्रमुख कार्की, उप– प्रमुख नन्दकुमारी राई, वडा नं ६ का वडाध्यक्ष उद्धवप्रसाद पोख्रेल सहितको टोलीले जमिन निरीक्षण समेत गरेको छ ।

खुल्ला पटेर घारी सरकारी जमिनलाई केही स्थानीयसँगै उदयपुर, सप्तरी, सिरहा लगायतका मानिस आएर अतिक्रमण गरी भोग चलन गर्ने थालेपछि नगरपालिकाले घेराबेरा गर्ने कार्य थालेको नगर प्रमुख कार्कीले जानकारी दिनुभयो ।

खुल्ला जमिनलाई नगरपालिकाको मातहतमा ल्याएर स्थानीय विद्यालय, मन्दिर, स्वास्थ्य संस्थाको नाममा संरक्षण गर्ने र नगरपालिकाको आम्दानीको स्रोतको रुपमा विकास गराउने नगरपालिकाको योजना रहेको छ ।

स्थानीय जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पवन चन्द्रवंशीका अनुसार खुल्ला जमिनमा अतिक्रमण बढेपछि नगरपालिका, वडा कार्यालय र स्थानीयको आम भेलाले करिब २ सय बिघा खुल्ला जमिनलाई विद्यालयको स्वामित्वमा ल्याउने सहमति भएको छ ।

गरैया टोल क्षेत्रमा रहेको उक्त जमिनमा नगरपालिकाले गौरवको योजना बनाएर स्थानीयलाई रोजगारी र लगानीको क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाले योजना लिएको नगर प्रमुख कार्कीले बताउनुभयो ।