मुगु जिल्ला, छायाँनाथ रारा नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, मुगुमा निकासा भएको रकम मिलोमतो गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव-इन्जिनियर हिमाल कुमार मल्ल र सव-इन्जिनियर गोरसिंह बढुवालसमेतको मिलोमतोमा उक्त सडक निर्माण सम्झौतामा निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरी गराई, झुट्टा नापी किताब, मूल्याङ्कन विल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गराई सोही कागजातको आधारमा भएको वास्तविक कामभन्दा बढी रु.२०,४८,४०३।५४ उपभोक्ता समितिलाई भुक्तानी गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर बिगो रु.२०,४८,४०३।५४ (बीस लाख अड्चालीस हजार चार सय तीन रुपैया चौवन्न पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिबाना गरी, बिगोसमेत असुल उपर गर्न र सोही दफा बमोजिम हुने कैद सजाय हुन मागदाबी लिएको छ ।
साथै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढासमेतले डिभिजन वन कार्यालय, मुगुसँग गरेको सम्झौताको शर्त तथा मापदण्ड पालना नगरी, भएको वास्तविक कामभन्दा बढी काम गरेको भनी झुट्टा नापी किताब, मूल्याङ्कन विल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा कागजातहरुको आधारमा वास्तविक कामको रकमभन्दा बढी रु.२०,४८,४०३।५४रकम भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर बिगो रु.२०,४८,४०३।५४ (बीस लाख अड्चालीस हजार चार सय तीन रुपैया चौवन्न पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।