सडक निर्माणको काम अलपत्र हुनाले जीप संगै डोजर दौडाउनुपर्ने अवस्था

-


     सुचनाको हक     
     श्रावण २७ गते २०७९ मा प्रकाशित


बैतडी – ३ बर्ष अघि सुरु भएको बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र सम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम अलपत्र परेको छ । सडक कालोपत्रे नहुदाँ बर्षातको समयमा यात्रा गर्न असहज भएको छ । 
हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखीम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जीप चालक तिलक धामीले बताए । उनले भने,‘कालोपत्रे भए १घण्टा भित्रै पुगिनेमा अहिले करिब ४ घण्टा लाग्छ । एकदुई पटक आवतजावत गर्दा गाडीका पाटपुर्जाहरु खराब हुन्छन् । करिब दर्जन ठाउँमा पहिरो गइरहन्छ । सडक गुणस्तरीय नभएकाले भाडा समेत बढी लिनुपर्ने बाध्यता छ ।’
जय पृथ्वी राजमार्गको ढोल्यामोड देखि पुर्चौडी हाट सम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न कामको थालनी गरेकोमा काम अधुरै रहेको छ । 
ढोल्यामोडका स्थानियबासी शैलेन्द्र धानुकले भने,‘३बर्ष अघि काम सुरु गरेको ठेकेदारका मान्छे बर्षमा एक महिना मात्रै सडकमा देखिन्छन् । काम भएको छैन् । स्थानिय मजदुरलाई काम गराएको पैषा दिएको छैन् । हाम्रो ठाउँमा विकास हुने भन्दै सामुदायीक बनबाट गिट्टी बालुवा निशुल्क प्रयोवग गर्न दिने निर्णय समेत गरेर ठेकेदारलाई सहयोग गर्यौँ । तर ठेकेदारको अत्तोपत्तो छैन् ।’
यात्रुहरुले अहिले ढोल्यामोड देखी पुर्चौडी हाट सम्म १९ किलोमिटरको भाडा ५सय रुपया तिर्नु परिरहेको छ । त्यै पनि यात्रुहरुले चाहेको समयमा गाडी नै पाउदैनन् । बर्षा नभएको समयमा बस समेत सञ्चालन हुने यस सडकमा अहिले ४ह्वील ड्राइभ जीप मात्रै चलिरहेकाछन् । पानि परेको दिन भने ठाउँठाउँमा पहिरो जाने भएकाले पहिरो पञ्छाउन जीप संगै डोजर दौडाउनुपर्ने अवस्था छ । 
बर्षातको समयमा पहिरो जाने ठाउँका लागि एउटा डोजर भाडामा लिएर सडकमै खडा राखेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर नेपालीले बताए । 
उनले भने,‘ठेकेदारको लापरवाहीले सडकको हालत बिग्रीएको हो । ठेकेदार सम्पर्कमा समेत छैन् । किन अलपत्र छाडेको हो केहि बुझ्न सकिएको छैन् । अहिले गाडीको पछिपछि डोजर दौडाउनुपर्ने बाध्यता छ ।’
कालोपत्रेको काम सुरु गरेको अधुरो छाडेको ठेकेदारले केहि ठाउँमा नालि निर्माण र केहि ठाउँमा पर्खाल लगाएर छाडेको छ । तर ठाउँठाउँमा पहिरो खस्ने भएकाले दैनिक पहिरोमा गाडीहरु फस्ने गरेकाछन् । 
ढोल्यामोड–पुर्चौडी सडक कालोपत्रे गर्न ग्वाल्लेक निर्माण सेवाले ठेक्का पाएकोमा निर्माण व्यवसायी दानसिंह रावललाई पेटी ठेकेदार(सब कण्डक्टर)को रुपमा काम दिइएको हो । रावलले बर्षादका कारण काम अवरुद्ध भएको बताए । उनले भने, ‘अहिले बर्षातमा काम अवरुद्ध छ । बर्षा पछि काम गर्नेछौँ । मेसिनहरु सम्बन्धीत ठाउँमैछन् । आगामी असार मसान्तसम्मको म्याद छ, काम गर्छौ ।’
सब कण्डक्टर मार्फत काम गराइरहेका ग्वाल्लेक निर्माण सेवाका सञ्चालक सुरेश चन्दले काम केहि दिनमै अघि बढ्ने बताए । 
यस बिषयमा सम्बन्धीत कार्यालयले भने हस्याष्पद जवाफ दिएको छ । 
यता पुर्वाधार बिकास कार्यालयले भने उक्त सडकका ठेकेदारले अन्यत्र पनि काम गरिरहेकाले काम अवरुद्ध भएको जनाएको छ । कार्यालयका प्राविधिक नरेश भूलले भने, ‘त्यहि ठेकेदारले हाम्रै कार्यालयको काम मेलौलीमा पनि गरिरहेकाले उताको काम सकेपछि पुर्चौडीमा काम गर्नुहुन्छ ।’ १७ करोडको लागतमा केहि कामहरु सम्पन्न भैसकेको भुलले बताए ।