जिल्ला कैलाली, मोहन्याल गाउँपालिकाका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ३०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कन्चनपुरबाट खटिई गएको टोलीले निज दीपेन्द्र बुढाक्षेत्रीलाई सेवाग्राहीबाट रु. ३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०४।०१ गते नियन्त्रण लिएको थियो ।
अनुसन्धानको सिलसिलामा मोहन्याल गाउँपालिका, कैलालीका अधिकृत छैठौं दीपेन्द्र बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.१४,०००।– बैंक खातामा ट्रान्सफर गर्न लगाएको र रु. ३०,०००।– निजको साथबाट बरामद भएको पुष्टि हुन आएकोले निज दीपेन्द्र बुढाक्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजलाई बिगो रु. ४४,०००।- (चौवालीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।