सार्वजनिक स्थलमा दिउसै पनि चोरीको घटना बढ्दै

-


     सुचनाको हक     
     भाद्र १२ गते २०७९ मा प्रकाशित


पर्वतकी सम्झना शर्मा शुक्रबार साँझ बूढानीलकण्ठबाट २ जना बच्चासहित तीजको दर खाने कार्यक्रममा सहभागी हुन वनस्थलीको बोहोराटारस्थित आफन्तकोमा जाँदै थिइन् । उनी बूढानीलकण्ठबाट कलंकीसम्म जाने बसमा चढिन् ।

उनी बेलुका करीब ७ बजेतिर बसबाट वनस्थली चोकमा ओर्लन लागेकी थिइन । त्यही बेला ५ जनाको समूहमा रहेका चोरहरूले सम्झनाको गलामा रहेको सिक्री थुतेर भागे । उनी चिच्याउन थालिन्, तर कसैले वास्ता गरेनन् । बसबाट  ओर्लिएर हेर्दा चोरहरू बालाजुतर्फ जाँदै गरेको ७१५१ नम्बरको महानगर यातायात लेखेको बसमा चढेको उनले देखिन् । 

‘ओर्लिने बेलामा घाँटीमा भएको सिक्री थुतिहाल्यो चिच्याउँदा-चिच्याउँदै सडकको पल्लोपट्टी गएर महानगर यातायात लेखेको बसमा चढिहाल्यो,’ सम्झनाले भनिन्, ‘सडक पार गर्ने बेलामा गाडी आएकाले मानिसहरू कस्ता थिए हेर्नै भ्याइन, तर गुडिरहेको बसमा चढेको भने देखेँ ।’

उनले आफ्नो सिक्री लुटिएको बारेमा वनस्थली प्रहरीलाई जानकारी गराइन् । प्रहरीको १०० नम्बरमा पनि फोन गरेर जानकारी दिइन् । तर, उनी चढेर आएको बसले भने पैसासमेत नलिई हुइँकियो ।

‘त्यत्रो चोरी भयो भनेर कराउँदा ड्राइभर र सहचालकले वास्ता नगरी गाडी हुइँक्याई हाले । ‘यहाँ चोर थिए भन्ने उनीहरूलाई पहिल्यै थाहा थियो जस्तो लाग्यो’, सम्झनाले आशंका गरिन् । 

त्यसपछि प्रहरीले बालाजु चोकमा ७१८५ नम्बरको बस रोक्यो । त्यसमा एक जना शंकास्पद व्यक्तिलाई खानतलासी गर्दा केही भेटिएन । प्रहरीले बालाजु चौकीमा गएर बस्न भन्यो । उनले देखेको नम्बरको अर्थात ७१५१ नम्बरको गाडी आयो तर चोरहरू फेला परेनन् । उनी त्यहाँ उजुरी दिएर घर फर्किइन् । 

केही समय अगाडि तारकेश्वर नगरपालिका–९ बस्ने ६१ वर्षीय महिलाको टोखा नगरपालिका–८ भुवनेश्वरी मन्दिर जानेक्रममा सुनको सिक्री चोरी भयो । उक्त सिक्री चोरेको अभियोगमा प्रहरीले धरान उपमहानरपालिका–११ का २७ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई पक्राउ गरेको थियो । गोंगबुमा सुन चोरी भएपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन । उजुरी दिएको केही समयमै नयाँबसपार्कको प्रहरीले टोलीले सेन्चुरीलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

प्रहरीले उनको साथबाट २ वटा सुनको सिक्री बरामद गरेको थियो । उनलाई मुलुकी अपराधसंहिता ऐन–२०७४ को परिच्छेद २० अन्तर्गत चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा चलाएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

यस्तै प्रहरीले सार्वजनिक बसमा यात्रुलाई नसालु बिस्कुट दिएर बेहोस बनाई चोरी गरेको अभियोगमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–७ का ४९ वर्षीय रामबहादुर परियारलाई पनि पक्राउ गरेको थियो । 

उनले पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ९७१५ नम्बरको बसमा सँगै यात्रा गरिरहेका पर्वत चित्रेभन्ज्याङ गाउँपालिका २ का ४८ वर्षीय कमलार्से गुरुङलाई बेहोस बनाई लुटपाट गरेका थिए । नागढुंगाको चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा गुरुङ गाडी भित्रै बेहोस अवस्थामा भेटिएका थिए । पछि दुवैजनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा परियारले गुरुङलाई स्लिपिङ ट्याबलेट मिसाएको बिस्कुट खुवाएर बेहोस बनाई लुटपाट गरेको खुलेको थियो । 

प्रहरीले परियारको साथबाट ४ थान हाते घडी, ओरियो बिस्कुट ३ प्याकेट, पर्स २ थान, ४ थान मोबाइल, १४ हजार ५२० रुपैयाँ नगद, ४ वटा सिमकार्ड र ५ वटा स्लिपिङ ट्याबलेट बरामद गरेको थियो । 

तीज, दशैं, तिहारजस्ता चाडपर्व नजिकिरहेको समयमा उपत्यकामा चोरको बिगबिगी बढेको भन्ने यी घटनाले देखाउँछ । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले चाडपर्व नजिकिँदै जाँदा चोरीका घटनाहरू बढेको बताए । ‘महिला दिदीबहिनीहरूले तीज, दशैंजस्ता चाडपर्वमा सार्वजनिक ठाउँमा जाँदा गहना लगाउने गरेकाले पनि चोरहरू सक्रिय भएको देखिन्छ’, एसपी मैनालीले भने, ‘यसलाई नियन्त्रण गर्नका लागि प्रहरी खटाएको छौँ ।’

प्रहरीले विगतमा जस्तै अहिले पनि सार्वजनिक बस, सार्वजनिक मठ मन्दिरमा हुने चोरीलाई नियन्त्रण गर्नका लागि ‘सेफ्टी पिन’ अपरेशनलाई निरन्तरता दिएको मैनालीले बताए । 

प्रहरीले सेफ्टी पिनअन्तर्गत उपत्यकाका सार्वजनिक बस, गाडीहरूमा चोरी नियन्त्रण गर्नका लागि महिला र पुरुष प्रहरीहरू सादा पोसाकमा खटाउने गरेको छ । 

एसपी मैनालीले सार्वजनिक ठाउँमा हिँड्दा वा मन्दिरहरुमा पूजा गर्न जाँदा सुनलगायतका महँगा गरगहनाको ध्यान दिन आग्रह गरेका छन् ।  

‘चाडपर्वमा दिदीबहिनीहरुले गहना लगाउँदा चोरी हुन्छ की भनेर पनि सावधानी अपनाउन अनुरोध गर्छु’, एसपी मैनालीले भने, ‘सकेसम्म सार्वजनिक भिडभाड हुने ठाउँमा जाँदा महँगा गहना नलगाउन अनुरोध छ ।’

चाडपर्वको समयमा घरबाट बाहिर निस्कँदा आफ्नो घरको ताला–चाबी राम्रोसँग लगाउन वा छिमेकीलाई निगरानी गर्न अनुरोध गरेर मात्रै बाहिर जान प्रहरीले अनुरोध गरेको छ l