अर्थमन्त्रालयका सूचना अधिकारी कमल कुमार भट्टराईले आफ्नो मोबाइल नम्बर सार्वजनिक गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालय छिर्ने गेटको देब्रेपट्टी रहेको सानो फ्लेक्स बोर्डमा उनको नाम, फोन नम्बर, मोबाइल नम्बर, इमेल र कोठा नम्बर उल्लेख गरिएको छ ।
यसअघि उनले आफ्नो मोबाइल नम्बर दिन नसकिने बताएका थिए । अर्थमन्त्रालयको वेबसाइटमा भने उनको मोबाइल नम्बर अपडेट भएको छैन । उनले फ्लेक्स बोर्डमा आफ्नो नयाँ फोन नम्बर ९८६४१६४६०६ उल्लेख गरेका छन् ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ, उपदफा (२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भनी उल्लेख भएको छ ।
सोही ऐनको दफा ४ को उपदफा (१) मा सूचना अधिकारी तोक्न पर्ने व्यवस्था रहेको छ । यस व्यवस्थालाई प्रभावकारी बनाउन र सर्वसाधारण नागरिकको पहुँच सहज बनाउन यस आयोगले सबै सार्वजनिक निकायलाई पटक पटक त्यस्ता सूचना अधिकारीको नाम, पद, सम्पर्क नम्बर (ल्याण्डलाइन र मोबाइल नं.), इमेल, कोठा नं., वेवसाइट, फ्लेक्स प्रिन्ट तथा अरु माध्यमबाट समेत सार्वजनिक गर्नु भनी आदेश गरेको अवस्था छ ।
बिजपाटीले गत असार २६ गते ‘सरकारी वेबसाइटबाटै सूचना अधिकारीको नम्बर गायब : कानूनको उल्लङ्घन, सुशासनको खिल्ली’ शीर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपछि साउन २० गते राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायहरूलाई सूचनाको हक सम्बन्धि ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न आदेश दियो ।
आयोगले बिजपाटीको उक्त समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै सार्वजनिक निकायहरुलाई सूचनाको हक सम्बन्धि ऐनमा भएको व्यवस्थाअनुसार सूचना अधिकारीको व्यवस्था गर्न र आफ्नो वेबसाइटमा सूचना अधिकारीको नाम, पद, सम्पर्क नम्बर (ल्याण्डलाइन र मोबाइल), इमेल, कोठा नं. सार्वजनिक गर्न आदेश दिएको दिएको थियो ।
उक्त आदेशको कार्यान्वयन गर्न सूचना अधिकारी भट्टराईले अटेरी गरिरहेका थिए । उनले बिजपाटीलाई भनेका थिए, ‘अफिसले मोबाइल नै दिएको छैन, कसरी नम्बर सार्वजनिक गर्नु ?’
नोट: बिजपाटी बाट साभार