सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज (बुधवार) ‘थाहा दिवस’ मनाइएको छ । थाहा दिवस विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले राज्यले सहज र सरल रुपमा सूचना प्राप्त गर्ने वातावरण बनाउन नसकेको गुनासो गरे । उनले सूचनाको अधिकार भए पनि प्रक्रियामा नजाँदा आवश्यक समयमा सूचना प्राप्त हुन नसकेको बताए । उनले राज्यले ल्याएको कानूनलाई कार्यान्वयन गराउन नागरिकस्तरबाट दबाबमूलक कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।
‘हामीले सूचनाको अधिकार छ, कानून छ, सबैकुरा छ, तर हामी प्रक्रियामा गइरहेका छैनौँ । सूचना माग्ने प्रक्रियामा गइरहेका छौँ । जो प्रक्रियामा गइरहेको छ, त्यसले पनि सूचना पाइरहेको छैन’, अध्यक्ष बागचन्दले भने, ‘राज्यले सहज र सरल रूपमा सूचना प्राप्त गर्ने वातावरण बनाओस् । राज्यले ल्याएको कानूनलाई नागरिकस्तरबाट यसको कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्नुनपर्ने खालको वातावरण बनोस् ।’
बागचन्दले राज्यले सूचना दिवस मनाउनका लागि होटलहरूमा गरेको कार्यक्रमले मात्रै नपुग्ने भन्दै सचेतनाको लागि सरकारी सञ्चारमाध्यमहरूमा प्रचार–प्रसार हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले ‘सूचना पाउने र माग्ने मेरो मौलिक अधिकार हो, आफूले तिरेको करले कसरी खर्च भइरहेको छ, जान्ने प्रयास गरौँ, सार्वजनिक निकायका बेथिति र भ्रष्टाचारको अन्त्य गर्न जागरुक बनौँ’ लगायतका सचेतनामूलक पम्प्लेट टाँसेका थिए ।