गोरखाको चुमनुब्री स्याउ हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौंको बजारमा पुर्याइएको छ।
चुमनुब्री-४ नाम्रुङमा उत्पादन भएको गोल्डेन डेलिसियस, गाला, किङ रेड डेलिसियस, रेड डेलिसियस र फुजी जातका स्याउ नक्शालको भाटभटेनी सुपर मार्केटमा बिक्रीका लागि राखिएको स्याउ व्यवसायी लाक्पा डुण्डुप लामाले जानकारी दिए।
‘गत वर्षदेखि स्याउ फल्न थाले पनि व्यवसायिक उत्पादन यसै वर्षदेखि सुरु भएको हो’, लामाले भने, ‘यसलाई मैले चुमनुब्री स्याउ भनेर ब्राण्डिङ गरेको छु। कुनै विषादी, रासायनिक मल प्रयोग गरेको छैन। स्याउ विशुद्ध अर्गानिक छ।’
बगैंचाको चार हजार तीनसय ७० वटा बोटबाट यो वर्ष अन्दाजी ३५ हजार किलो स्याउ उत्पादन भएको उनको अनुमान छ।
‘गाउँसम्म मोटरबाटो छैन, त्यसैले हेलिकोप्टरबाट ढुवानी गरेर काठमाडौं पुर्याएको छु’, उनले भने, ‘२८ सय किलो स्याउ गोरखाको तेस्रो गोरखकाली मेलामा बेचेँ। अरू काठमाडौंमा बिक्री हुनेछ।’
समुद्री सतहबाट २७०० मिटर उचाइमा फलेको ‘चुमनुब्री स्याउ’ अत्यन्तै रसिलो र स्वादिलो रहेको उनको भनाइ छ। पूर्ण अर्गानिक भएकाले मूल्य पनि बजारका अरू स्याउको तुलनामा केही बढी नै रहेको उनको भनाइ छ।
स्याउका पारखीलाई गोरखाको ‘चुमनुब्री स्याउ’को स्वाद पुर्याउने उनको योजना छ। गोरखामा पनि स्याउ फल्छ भनेर चिनाउन केही समय लाग्ने भए पनि त्यसमा निरन्तर लागी परेर सफल बन्ने उनको विश्वास छ।
गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय र किसान स्वयंको लागत साझेदारीमा इटलीबाट बिरुवा ल्याएर नाम्रुङको पोरमा स्याउ खेती गरिएको हो।
पहिलो वर्ष १५० रोपनी क्षेत्रफलमा ४ हजार ३ सय ७० स्याउको बोट रोपिएको थियो। गत वर्ष उनले तीन सय रोपनीमा आठ हजार नयाँ बिरुवा लगाएका छन्।
उन्नत जातका ती स्याउ लगाइएको वर्षबाट उत्पादन हुन थालेको थियो तर सुरुको वर्ष फलेको सबै स्याउ नष्ट गर्नुपर्ने भएकाले नष्ट गरिएको उनले बताए।
गत वर्ष एउटा बोटमा सरदर चार केजीका दरले स्याउ फलेको र यसवर्ष एउटा बोटमा औसतमा ८ किलोग्रामका दरले स्याउ फलेको लामाको भनाइ छ।
बिक्रीका लागि महंगो हेलिकोप्टर भाडा तिरेर काठमाडौं नलगेपनि बजारको समस्या नरहेको व्यवसायी लामाले बताए।
स्थानीय स्तरमा उत्पादित स्याउबाट वाइन, जुस, रक्सी, केक, जेली, जाम गरी १० प्रकारको खाद्यपदार्थ बनाउने गरिएको उनले बताए।
चुमनुब्रीमा रहेको आफ्नै होटलमा सिजनका बेलामा स्याउबाट बनेको केक र वाइनको राम्रो व्यापार हुने गरेको उनले बताए।
‘चुमनुब्री ब्राण्डको स्याउलाई विधिवत् रूपमा अर्गानिक प्रमाणीकरण गरेर विदेश निर्यात गर्ने मेरो लक्ष्य छ’, लाक्पा डुण्डुप भन्छन्, ‘मैले स्याउ खेती गर्न थालेपछि त्यस क्षेत्रमा अरू पाँचजना किसानले पाँच सय रोपनीमा स्याउ खेती गर्न सुरु गरेका छन्। पूर्ण अर्गानिक मापदण्ड अपनाएमा सबैको संकलन गरेर स्वदेश र विदेशको बजारमा पुर्याउने मेरो योजना छ।’
नेपालमा भारत, चीन, जापान, अमेरिका, स्विटजल्याण्ड लगायका देशबाट महंगो दरमा स्याउ ल्याउने गरेको बताउँदै उनले स्याउ आयातलाई कम गर्न सरकारीस्तरबाट पनि सहयोग हुनुपर्ने बताए।
उनले आफ्नो बगैंचालाई स्याउ अध्ययन केन्द्रका रूपमा विकास गर्न चाहेको बताएका छन्। स्याउका बारेमा अवलोकन, अध्ययन, प्रशिक्षण गर्न चाहनेहरूका लागि उपयुक्त पूर्वाधार निर्माण गरिरहेको उनले बताए।